गोरखा, ११ कार्तिक । बारपाक सुलिकोट गाउँपालिकाद्धारा आयोजित पाँचौं बारपाक सुलिकोट रनिङ शिल्ड एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । गाउँपालिका भित्रका १२ वटा विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगिता अन्र्तगत छात्रछात्रा एथलेटिक्स, कबड्डी र भलिबल गरी ३० इभेन्टमा प्रतिस्पर्धा भएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ कास्य पदक गरी कूल २२ पदकसहित वडा नम्बर ३ स्थित माँझथर माध्यामिक विद्यालय रनिङ शिल्डको उपाधि बिजेता बनेको छ । यो संगै माँझथर मावि लगातार तीन बर्ष रनिङशिल्डको उपाधी माथि कब्जा जमाएको हो । उपाधि बिजेता माँझथर माविले नगद रु तीस हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै ७ स्वर्ण, ७ रजत र ५ कास्यसहित कूल १९ पदक प्राप्त गर्दै वडा नम्बर ६ स्थित सूर्यज्वोती माध्यामिक विद्यालय रनिङ शिल्ड प्रतियोगितामा दोस्रो हुन सफल भएको छ । दोस्रो हुन सफल सूर्यज्वोतीले २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा २ स्वर्ण, २ रजत र १ कास्यसहित कूल ५ पदक प्राप्त गर्दै वडा नं ७ को शैलपुत्री माध्यामिक विद्यालय तेस्रो भएको छ । तेस्रो हुन सफल शैलपुत्री माविले १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल खेलको छात्रतर्फ रनचोकस्थित दुर्गा माध्यामिक विद्यालयका कविराज वि.क. र छात्रातर्फ स्वाँरास्थित माँझथर माध्यामिक विद्यालयका पूजा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । कबड्डी खेलको छात्रतर्फ ताकुकोटको सूर्यज्योति माध्यामिक विद्यालयका सन्देश श्रेष्ठ र छात्रातर्फ सूर्यज्योति माध्यामिक विद्यालयकै अञ्जना परियार उत्कृष्ट खेलाडी बनेका छन् ।
त्यस्तै एथ्लेटिक्समा छात्रतर्फ ताकुकोटको सूर्यज्योति माध्यामिक विद्यालयका पविन रम्तेल र छात्रातर्फ माझथर माध्यामिक विद्यालयका पुनम गुरुङ उत्कृष्ट खेलाडी घोषित भएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर प्रयास गर्दैै आएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले खेलकूद प्रतियोगिताले खेलाडीको अनुशासन, खेलभावनाको विकास र सर्वाड्गीण विकास टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको यहीँ कात्तिक ८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका विच उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यामिक विद्यालय र २ वटा आधारभूत विद्यालयको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा बिभिन्न विधामा गरी करिब ४ सय विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो ।