Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अभिभावकविहिन बालबालिकालाई दसैँका लागि नयाँ कपडा वितरण


3.2K
Shares

अभिभावकविहिन बालबालिकालाई दसैँका लागि नयाँ कपडा वितरण

गोरखा, १९ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दसैँको अवसरमा अभिभावकविहिन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहिन बालबालिकालाई दसैँका लागि नयाँ कपडा खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

‘‘गाउँघरमा दसैँमा नयाँ कपडा लगाउने, मिठोमसिनो खाने र दसैँ धुमधामका साथ मनाउने प्रचलन पुरानै हो, उहाँले भन्नुभयो, ‘‘नयाँ कपडा नलगाएसम्म बालबालिकामा दसैँ आएको अनुभूती पनि हुँदैन, अभिभावकविहिन बालबालिकालाई दसैँमा आफ्ना अभिभावक नभएको अनुभूती नहोस् भन्नकालागि गाउँपालिकाको तर्फबाट नयाँ लत्ताकपडा वितरण गरिएको हो ।’’

गाउँपालिकाले पालिका भित्रका अभिभावकविहिन बालबालिकाकालाई चालु शैक्षिकसत्रदेखि वडा नम्बर ६ बाह्रकोटमा निःशुल्क रुपमा खान, बस्न र पठनपाठनको सुविधासहित मनास्लु छात्राबास सञ्चालन गर्दै आएको छ । सोही छात्राबासमा बस्दै आएका १९ जना अभिभावकविहिन बालबालिकालाई गाउँपालिकाले नयाँ कपडा वितरण गरेको हो ।

‘‘रोजाई अनुसार केटाका लागि टिर्सट, पाइन्ट ज्याकेट, चप्पल र केटीका लागि कुर्ता सुरुवाल, टिर्सट पाइन्टलगायत आ–आफ्नो रोजाईको कपडा वितरण गरिएको छ, अध्यक्ष भट्टले भन्नुभयो,‘‘नयाँ कपडा पाएपछि उनीहरुलाई दसैँ आएको अनुभूती भएको पाएका छाँै, सवैजना खुशी भएका छन् ।’’

उक्त छात्राबासमा बस्ने बालबालिकालाई गाउँपालिकाले स्थानीय सूर्यज्वोती माध्यामिक विद्यालयमा कक्षा १२सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले अभिभावकविहिन बालबालिकालाई शिक्षाबाट बन्चित हुन नदिन नीति नै बनाएर निशुल्क छात्राबास कार्यक्रम लागू गर्दै आएको हो ।

निःशुल्क छात्राबास सञ्चालन गरेसंगै पालिका भित्र आर्थिक अभावका कारण कोहीपनि अभिभावकविहिन तथा विपन्न बालबालिका विद्यालय जानबाट बन्चित हुन नपर्ने गाउँपालिकाका अध्यक्ष भट्टको भनाई छ । कार्यक्रम सञ्चालन गर्नका गाउँपालिकाले चालु आर्थिक बर्षका लागि १२ लाख रुपैयाँ बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology