गोरखा, १७ असोज ः गोरखाको सहिद गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको पोलमा क्षति पु¥याएपछि गएको पाँच दिनदेखि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
सहिद लखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानी जोड्ने झोलुङे पुल बाढीले बगाउदा विद्युत पोलमा समेत क्षति पुगेपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिनुभयो ।
‘‘झोलुङे पुलसंगै विद्युतका चार वटा पोल बाढीले क्षति पु¥याएको छ, उहाँले भन्नुभयो, ‘‘पोलमा टाँगिएको सवै तारहरु पनि त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत सूचारु गर्ने तयारी भइरहेको छ ।’’
अवरुद्ध विद्युत सूचारु गराउन क्षति पुगेको विद्युतको पोल मर्मत गरिसकिएको अधिकारीले बताउनुभयो । ‘‘पोल मर्मतसम्हार र तार नयाँ फेर्ने काम लगभग सकिएको छ, उहाँले भन्नुभयो, ‘अव तत्कालै बिद्युत सुचारु गर्ने तयारी भइरहेको छ ।’’
विद्युत अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दालाई दैनिक कुटानी पिसानीका साथै मोवाइल चार्ज गर्नसमेत समस्या हुँदै आएको सहिद लखन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । तस्विर ः सौजन्य पत्रकार दानबहादुर गुरुङ