कास्की १७ असोज । झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु हुनेको पहिचान खुलेको छ । धादिङको धुनिवेशी नगरपालिका–९ झ्याप्ले खोलामा खसेको पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।असोज ११ गते सडकमाथिबाट खसेको पहिरोले दुई वटा माइक्रो र एउटा बस पुरिएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने सबैको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताउनुभयो ।
‘‘‘पहिचान खुलेर पनि शव आफन्तलाई बुझाइसक्यौं,’ उहाँले भन्नुभयो, ‘‘मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।’’झ्याप्ले खोलाको पहिरोमा गण्डकी प्रदेशका १३ जनाले ज्यान गुमाएका छन् । गोरखाका ५ जना, स्याङजाका ३, बागलुङका २, तनहुँका २ र पर्वतका १ जनाको मृत्यु भएको छ ।
गोरखाको भिमसेन गाउँपालिका–४ का ४७ वर्षीय मदन परियार दमै, भिमसेन गाउँपालिका–४ का १५ वर्षीय विनायक भट्टराई, धार्चे गाउँपालिका– ७ का २७ वर्षीय सुके दमै, बारपाक सुलिकोट गाउँपालिका–७ का २८ वर्षीय नवराज पन्त, गण्डकी गाउँपालिका–४ का ४० वर्षीय नवराज तिवारीको मृत्यु भएको छ ।
स्याङजाको गल्याङ नगरपालिका–३ की ४५ वर्षीया सिता भट्टराई, दीपिका भट्टराई र दिपेश भट्टराई रहेका छन् । तनहुँको भानु नगरपालिका–३ का २६ वर्षीय जनक कुवँर, व्यास नगरपालिका–५ का ३४ वर्षीय लेखनाथ ओझा, बागलुङको बडिगाड गाउँपालिका–२ का ५२ वर्षीय इन्द्रजीत राना र भीमकुमारी राना रहेका छन् ।
पर्वतको कुश्मा नगरपालिका–२ का ३१ वर्षीया पुष्पा शर्माको पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । असोज ११ गतेपछि बाढी पहिरोमा परेर हालसम्म देशभर २३३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । २२ जना अझै वेपत्ता छन् भने १६९ जना घाइते भएका हुन् । १७ हजार १२० भन्दी बढी प्रभावितको उद्धार गरेको उल्लेख गरिएको छ ।