गोरखा, १२ असोज ः गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधिन सुपर त्रिशुली जलविद्युत आयोजनाको एक्साभेटर र टिप्पर शुक्रबार त्रिशुली नदीमा आएको बाढीले बगाएको छ ।
केहीदिनदेखि परेको अविरल बर्षाका कारण नदीमा आएको भीषण बाढीले राती करिब १०ः१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाढीले नदीको बिच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी संगम मग्रातीले जानकारी दिनुभयो । ‘‘साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो, उहाँले भन्नुभयो, ‘‘सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राती करिब १० बजे त्रिशुली नदीमा आएको बाढीले बगाएको छ ।’’
नदीमा भीषणबाढी आएपछि दिउँसोेदेखि नै आयोजनाको तीनवटा टिप्पर दईवटा एक्साभेटर नदीको बिचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भएपनि नसकिएको उहाँको भनाई छ ।
व्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणको काम गर्न राखिएको टिप्पर र एक्साभेटर नदीमा आएको बाढीले बगाएको हो ।…दीपक श्रेष्ठ