Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

सुन तस्करलाई नागरिकता दिलाएको आरोप लागेका अधिकृत अर्याल पक्राउ


2.2K
Shares

सुन तस्करलाई नागरिकता दिलाएको आरोप लागेका अधिकृत अर्याल पक्राउ

हेटौंडा,२४ फागुन । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।

हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।

काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ‘नागरिकता सम्बन्धी मुद्दामा अर्याललाई पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको छ,’ उहाँले भन्नुभयो ।

अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ। काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए ।

सिआईबीको अनुसन्धानबाट काभ्रे प्रशासनले विदेशी नागरिकलाई नागरिकता दिलाउन नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी फाँटमा झपेन्द्रराज खरेलसँगै अर्याललाई पनि पठाएको खुलेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए ।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology