विराटनगर, २२ फागुन । एक किशोरीको हत्या भएको छ । मोरङमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी नवराज कार्कीले जानकारी दिनुभयो ।
सोमबार राति साढे १० बजे ज्ञानमती आफ्नै घरको पछाडि रहेको शौचालयमा गएकी थिइन् । त्यहीबेला घरबाहिर कोही चिच्याएको आवाज आएको थियो।
निदाउन लागेका बेला आएको आवाजले मोरङ पथरीशनिश्चरे ७ का विनोद राई त्यतै दौडाए । शौचालय नजिकै पुग्दा उनले देखे, बहिनी ज्ञानमती राई रगताम्मे भएर लडेकी थिइन् । छटपटाइरहेकी बहिनी देखेर आत्तिएका उनी कराए । होहल्ला भयो ।
केहीबेर नबित्दै ज्ञानमतीको ज्यान गयो। उनीमाथि धारिलो हतियारको गहिरो चोट थियो । ‘चिच्याएको आवाज आएपछि हतारहतार आएको थिएँ, बहिनी लडिरहेको देखेँ,’ राईले मोरङ प्रहरीसित भनेका छन्, ‘त्यसपछि होहल्ला गरेँ। त्यसो गर्दागर्दै उसको प्राण गइसकेको रहेछ।’
पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढिरहेकी १५ वर्षीया ज्ञानमतीको गर्धनमा प्रहार भएको धारिलो हतियारले उनको घटनास्थलमै ज्यान लिएको थियो ।
ज्ञानमती लामाटोलस्थित मामाका छोरा विनोदको घरमा बसेर पढिरहेकी थिइन्। खोटाङ ऐसेलुखर्क ६ मा घर भएकी उनी पढ्नलाई भनेर दुई वर्षअघि दाइको घरमा आएकी थिइन् ।
चियानास्ता पसल चलाउने विनोदलाई उनले फुर्सदमा काम सघाउने गर्थिन् । सोमबार पनि बेलुकाको खाना खाएर पढिरहेकी उनी शौचालय जाने बेलामा आक्रमणमा परेकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले यस घटनामा संलग्नको पहिचान नखुलेको र कारणबारे खोजी भइरहेको बताए।
१५ वर्षीया किशोरीको यति विभत्स रुपमा भएको हत्याको कारणबारे सबै कोणबाट अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । ‘कारण यही हो भन्ने खुलेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘प्रेम सम्बन्ध वा अरु केही हो, खुल्नेछ ।’ प्रहरीले उनको घरपरिवारबारे जानकार कसैले हत्या गरेको हुने सम्भावना छ ।
‘शौचालय जाने बाटो ढुकेर बसेको कसैले उनको हत्या गरेको देखिन्छ,’ ती प्रहरीले भन्नभयो । घटनास्थलमा मंगलबार बिहान मात्रै मुचुल्का गरिएको थियो । धरानबाट तालिमप्राप्त कुकुरको टोली पनि खटिएको थियो । मंगलबार बिहान साढे ८ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमर्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।