Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

स्मरण : तिम्रो त्यो वाचा पुरा गर्दैछु क.दुर्गा…


7.4K
Shares

स्मरण : तिम्रो त्यो वाचा पुरा गर्दैछु क.दुर्गा…

छ मायाथापा मगर (क.सिता)

गोरखा ८ फागुन ।    मानिस जन्मन्छ जन्मपछि मृत्यु अनिवार्य छ । सबै मर्छन थोरैले मात्र त्यो अवसर पाँउछन त्यो मध्येका एक तिमी हौं तिमी क्षीतिजमा चम्कीएर रहयौ, तिमिले आफु मात्र जितेनौ संसारलाई जिताएर गयौ । सारा विभेदको विरुद्ध विद्रोहको चेत छ¥यौ र त समाजलाई वदलेर छाड्यौ । आज भौतिक रुपमा तिमी हामी विच नभएको करिव २५ वर्ष भइसकेछ तर मलाई विश्वास नै छैन दुर्गा आज पनि तिमी हाम्रो गाउँ वस्ती भिरपाखाहरुमा विरताको आवाज, वर्गविहिनहरुको आवाज लिएर समुन्त समाज निर्माण गर्न खवरदारी गरिरहेको आभास भइरहेको छ ।

अझ पनि मलाई हामीले हाम्रो प्रतिवद्धता र जनताको आशा र विश्वासको सारथी वन्न छोडन हुन्न है कमरेड भन्दै सिरुपाते खुकुरी कम्मरमा भिरेर दरिलो हात मिलाए जस्तै आभास भईरहेको छ । तर विडम्वना यता हेर्छु उता हेर्छु फगत तिम्रो विचार मात्र भेटाउछु तिम्रो भौतिक शरिर त केवल अनुभूतिले मात्र भेटीरहेको पाउछु । हो दुर्गा आज म त्यही तिमीले देखेको सपना बोकेर मैले नदेखेको सपनाको छहारीमा वसेर तिमीले शहादत पाउनु भन्दाअगाडी हामीले गरेका वाचा आज वल्ल पुरा गर्ने कोसिस गर्दैछु त्यसैले कमरेड दुर्गा त्यसैले पनि तिमिले त जित्यौ जित्यौ तर हामीले के ग¥यौ ?

समय परिवर्तनशील छ । परिवर्तनका लागि क्रान्ति आवश्यक छ र क्रान्तिमा वलिदान अपरिहार्य छ हुनेछ नै । यसैको आवश्यक्ता पुरा गर्नका लागि युद्ध मोर्चामा खटिने एक साहसी योद्धाको गोरखाको दक्षिणी भुगोल दरौदी र मस्याङ्गदी नदी विचको भागमा पर्ने धुवाकोट एक गाउँमा जन्मिएका थियौ । नजिकै छिमेकी गाउँ देउरालीमा म पनि हुर्कदै गर्दा वाल्यकाल देखि नै हामी एक अर्का विच परिचित हुने अवसर मिलेको थियो । वाल्यकालदेखि नै दुर्गा र म एक मिल्ने साथी थियौ ।

एउटा सामान्य किसान परिवारमा २०३२ साल जेठमा वुवा लक्ष्मी श्रेष्ठ र आमा विन्दुमाया श्रेष्ठको कोखबाट कान्छो सन्तानको रुपमा जन्म लिनुभएका दुर्गानारायाण श्रेष्ठको वाल्यकाल दुःख र अभाव र संघर्षमा वित्यो । पाँच छोरा र ४ छोरीहरु सहित ११ जनाको परिवार सामान्य खेती किसानी गरेर जिवन गुजार्नु पर्ने बाध्यता थियो । दुर्गानारायणको विहान वेलुकी घरको काममा वावु आमालाई सहयोग गर्दै घरबाट करिव डेढ घन्टा टाढाको दुरीमा देउराली गा.वि.समा अवस्थित श्री रामशाह माविमा अध्ययन गर्न थाल्नु भयो । उहाँ रामशाहमा पढ्न आउनु भयो तर हामी भने गाउँकै विद्यालयमा पढदै थियौ । एउटै स्कुल नपढे पनि उहाँ संग हाम्रो राम्रो भेटघाट भने बारम्वार भइरहथ्योे । स्कुल पढदै गर्दा उहाँ विद्यार्थी संगठनमा पनि सक्रिय हुँदै जानुभयो भने त्यति वेला कक्षा आठ पास गरेर नौ कक्षामा पढदै हुनुहुथ्यो ।

समाजको अन्याय अत्याचार विभेद उत्पीडन अन्त्यका एकात्मक सामन्ती राज्य व्यवस्थालार्ई फालेर जनताको व्यवस्था स्थापना गर्न देशभर माओवादी पार्टीले सञ्चालन गरेको महान जनयुद्ध विस्तार हुदै थियो । आमसर्वहारा जनताको आशा र विश्वासको दियो वनेको महान् जनयुद्धमा सचेत युवाहरुको सक्रियता बिस्तारै बढ्दै गएको थियो । गाउँवस्तीमा जनताको हक र अधिकार स्थापना गर्न मानिसहरु संगठित हुँदै गएका थिए । गोरखामा झन जनयुद्ध सुरु भएको तीन वर्षमा नै पार्टी संगठनको राम्रै प्रभाव वढिरहेको थियो ।

जनयुद्ध शुरु भएको मात्र ३ वर्षमा । जनयुद्धको प्रभाव उहाँ हामी सबैमा पर्दै गयो । हामी बारम्वर पार्टी संगठनमा कसरी काम गर्ने भनेर सल्लाह गर्दै ग¥थ्यौ । अर्ध भुमिगत भइ पार्टीका विभिन्न कार्यक्रममा सहभागी भइन्थ्यो । रातभर पार्टीको काम दिनमा स्कुल हाम्रो जीवन यसरी चल्दै गर्दा अल्पकालिन समयले पार्टीमा काम गर्न नभ्याइने ठानेर हामीले सल्लाह गरौँ अव पार्टीको पूर्णकालिन भएर पार्टी क्रान्ति देश र जनताको सेवा गर्नुपर्छ भनेर सल्लाह भयो । केही साथीहरु भुमिगत हुन सक्नु भएन । वाँकी हामी दुर्गा म, कल्पना लगायतका साथीहरु २०५४ सालको फाल्गुण १ गते तेस्रो जनयुद्ध दिवसको दिन गोरखा नगरपालिकाको १० किलो स्थित कुन्दुरमा शहीद क.सुर्य कुमाल र क.रुद्र कुमालको धन्सारमा भएको बैठकबाट हामी पूर्णकालीन भयौं ।

हरेक कुरामा उत्सुक रहने जे काम गर्न पनि अगाडी सरि हाल्ने निडर हक्की स्वाभाव, जनतासंग राम्रोसंग घुलमिल हुनसक्ने क्षमता, पार्टीको आदेश निर्देशन बडो कुशलताका साथ पूरा गर्ने दृढ स्वाभाव थियो कमरेड दुर्गामा । पार्टी काममा भुमिगत भई पूर्णकालिन कार्यकर्ता भएपछि हामी पार्टीको आवश्यकता अनुरुप विभिन्न भुगोलमा काम गर्न थाल्यौ । हामी छुटाछुटै सौन्य फर्मेसन स्क्वायडको जिम्मेवारीमा काम गर्दै अगाडी वढदै गयौ । मेरो कार्य क्षेत्र लमजुङ्ग तोकियो । त्यस वेला लमजुङ्ग र गोरखा सांगठानिक हिसावले एउटै जिल्ला थियो । वेलावेलामा पार्टी बैठकमा क.दुर्गासंग भेटघाट हुने गर्दथ्यो ।

भेटघाटमा पार्टीका कुरा हाम्रो स्कुले जीवनका कुरा अनि वाल्यकालका कुरा अनि भुमिगत हुँदाको अनुभव अनुभुति एक अर्कामा साटासाट ग¥थ्यौँ । निरन्तर हामी फरक–फरक इलाकामा वसेर महान अभियानमा क्रियाशील हँुदै जनताको गाउँवस्तीमा राजनैतिक चेतनाको आवाज वुलन्द गर्दै हिड्यौ । गोरखाको केरावारी, थालाजङ्गु लगायतका क्षेत्रहरु हामी लमजुङ पार्टीबाट हे¥थ्यौ । त्यही सिलसिलामा बि.स २०५५ साल पुस १२ गते राती २ वजे हामी केरावारी पुग्यौ । हामीे दुई टिम त्यस गाउँमा गएका थियौ ।

दुर्गा लगायतका कमरेडहरु चाँही राती ४ वजे मात्र केरावारीको शहीद क.राजविराज दाहाल र क.शुसिला दाहालको घर हाम्रो सेल्टर थियो त्यहाँ आईपुग्नुभयो । हामी ११ जना थियौ केन्द्रीत हुँदा । विहान सबेरै उठेर कोही साथीहरु हामीले भैलो खेलेर जम्मा गरेको धान कुट्न जानुभयो कोही आफनो नित्य कर्ममा लाग्दै हुनुहुन्थो । हामी पनि खाना पकाउने तयारीमा लाग्यौ । दुर्गा रातभर हिडेर आएको भएपनि हामी भएको ठाउमा आउनुभयो रातभर हिडेको उहाँको शरिरमा थकाई होइन, एउटा उर्जा देखिएको थियो ।

उहाँ हामी भएको ठाँउमा आउनुभयो र कुरा गर्न थाल्नुभयो । उहाँले धेरै कुरा गर्नु भयो पार्टी भुमिगत जीवन हाम्रो कार्यशैली दुस्मनको धरपकट दमन आदि तर मेरो दिमागमा अहिलेसम्म आएको कुरा चाँही उहाँले त्यो दिन विहान भन्नुभएको कुरा “कमरेड हामी लडाईको मोर्चामा छौ । हाम्रो जीवन कुन वेला सकिन्छ थाहा छैन । राज्यआतंक वढ्दै छ । लडाईको यस भिषण संघर्षमा हामी मारिन पनि सक्छौ, हाम्रो वलिदान हुनपनि सक्छ यदी हामी जो अगाडी मारिए पनि वाँच्नेले हाम्रो जीवनी लेखौँ है ! लेखौ है सिता कमरेड’’ भन्नुभएको कुरा मेरो दिमागमा वारम्वार आइरहन्छ । यस्तै कुराकानी रहदै गर्दा गाउँका स्थानीय हाम्रो आन्दोलनलाई मन नपराउने मान्छे पनि त्यहाँ आए ।

क. दुर्गा नारायण श्रेष्ठले उहाँसंग केहिवेर कुरा गर्नुभयो पार्टी आन्दोलनको कुरा बेलीविस्तार लगाउनुभयो जनताको लागि लडेको कुरा वताउनुभयो । उनी त्यो कुरा सुुने हिडे अनि कता लागे के गरे हामीले पत्ता पाउन सकेनौ । हाम्रो खाना पनि तयार हुँदै थियो । हामीले तीन वान पकाएर खाना खाने क्रममा थियौ । दुर्गा लगायतका साथीहरुले पहिलो चरणमा खाना खाएर रातभरको निद्राका कारण आराम गर्न भनेर धन्सारमा जानु भयो । हामी तेस्रो वान पकाएर भरखर खाना पस्कदै थियौ ।

शहीद हरिश्चन्द्र थापा भन्दै हुनुहुन्थ्यो ‘‘टन्न खानुस है साथी हो एउटा गोलीको ज्यान त हो’’ मात्र के भनेका थिए जौवारी प्रहरी चौकीका प्रहरीहरुले हामीलाई घेरा हालेर पहिलो फायर धन्सारमा ग¥यो । जहाँ दुर्गा नारायण कमरेडहरु हुनहुुन्थ्यौ गोली चलेपछि हामी कोही प्रतिरोध गर्दै घेरा तोडन थाल्यौ प्रहरी सिधै धन्सारमा गोली चलाउदै थिए । कोही कसैले धन्सारमा छ भनेर वताईरहेको सुननिथ्यो सायद ति मान्छे स्थानीय जस्तो आवाजको अनुभूति भयो हामीलाई । पहिलो गोली नै दुर्गा कमरेड लागेछ । गोली लागेर घाइते हुँदा पनि उहाँ खाटबाट उठेर हतियार लिनजानु भएछ फेरी दोस्रो गोली उहाँलाई नै लाग्यो र दुर्गा लगायतका सात जना साथीहरुको त्यहाँ नै शाहदत भयो ।

संयोग पनि अनौठो नै वन्यो जसले घन्टा अगाडी जो मारियो भने पनि जीवनी लेखौ है भन्नुभएको थियो उहाँले नै एक घन्टापछि शहादत प्राप्त गर्नुभयो । आज हामी वाँचिरहेका छौ र पनि हारिरेहेका छौ हाम्रो सपना र विपनाहरु पनि मरिरहेका छन् । हामीले नदेखेका सपनाहरु आज भोगीरहेका छौ कमरेड, तर तिमीले हामीले देखेका सपना पुुरा गर्न वलिदान दियौ । तिमी जितेर गयौ समाज परिवर्तन गर्न । तर हामीले न जित्यौ न हा¥यौ ।

वाँचिरहयौ त केवल नदेखेको सपनाको चङ्गामाथि चढेर देखिएको सपना केवल वाँचिरहेका छौ कमरेड फगत वाँचिरहेका छौ । हार्दिक श्रद्धाञ्जली क. दुर्गानारायण श्रेष्ठ, क.हरिश्चन्द्र थापा मगर, क.गुप्तवहादुर नहकी, क.सुर्य कुमाल, क.सुनिता श्रेष्ठ, क.मुक्ति न्यौापने क.दिपक उपाध्याय जसले आजको यो परिवर्तन र गणतन्त्र प्राप्तीका लागि सामुहिक हत्याकाण्डमा वलिदान दिनुभयो । तपाईहरुमा उच्च सम्मान ।

लेखक हाल नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिका सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology