गोरखा, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको इतिहास र योगदानको प्रचार–प्रसार गर्दै त्यसलाई पर्यटनसंग जोडेर गोरखाले विकास र सम्बृद्धि हासिल गर्न सक्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकोे अवसरमा नेपाल एकिकरणका अभियान्ता तत्कालिन राजा पृथ्वीनाराण शाहको जन्मथलो गोरखामा आज आयोजित कार्यक्रममा सहभागीहरुले अव इतिहासको चर्चा मात्र गर्ने नभई इतिहासलाई सम्बृद्धिका लागि उपयोग समेत गर्नुपर्ने बताएका हुन् ।
‘‘पृथ्वीनारायण शाहको इतिहासलाई ऐतिहासिक पर्यटनसंग जोडेर गोरखाको सम्बृद्धिको थालनी गर्न सक्नुपर्छ, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले भन्नुभयो, ‘‘यसले इतिहासको सम्मान मात्र नभएर वर्तमानलाई पनि एउटा गौरवपूर्ण इतिहास बनाउन सकिन्छ ।’’ प्रमुख थापामगरले पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट सिकेर सवै एकताबद्ध भइ सम्बृद्धिको उचाई हासिल गर्नु लाग्नुपर्नेमा जोडदिनुभयो ।
राष्ट्रनिर्माता शाहको कुसल नेतृत्व र दुरदर्शिताका कारण नेपाल आज विश्वसामु परिचित भएको भन्दै उहाँको अनुकरणीय कार्यको सवै क्षेत्रले अनुशरण गर्नु आवश्यक भएको थापामगरले बताउनुभयो । त्यस्तै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले पृथ्वीनारायण शाहले सुरु गरेको एकिकरणको अभियानबाट नै आधुनिक नेपालको जगको सुरुवात भएको बताउनुभयो ।
‘‘यो इतिहास गोरखाको गौरव बनेर रहेको छ, यो इतिहासलाई अध्ययन गर्न गोरखाको आउन चाहानेहरुका लागि मध्येनजर गर्दे गोरखालाई नेपाल एकिकरणको इतिहासको अध्ययन गर्ने प्रमुख थलोको रुपमा विकास गर्नुपर्छ भनेर लागि रहेका छौ, प्रमुख रानामगरले भन्नुभयो, ‘‘इतिहासलाई अव पर्यटनसंग पनि जोडेर सम्बृद्धिको थालनी समेत गर्नेछौ ।’’
उहाँले सदरमुकामको ठूलो आँगनमा हरेक दिन विहान र साँभm राष्ट्रनिर्माताको सम्मानमा ऐतिहासिक सेनाले शाहको सालिकमा राष्ट्रनिर्माता सलामी अर्पण गर्न सुरु गरेको भन्दै यहीँ सलामी हेर्नका लागि समेत पर्यटकहरु गोरखा आउने र गोरखामा बस्ने वातावरण बन्दै गएको बताउनुभयो ।
‘‘नेपाली सेना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको आयोजनामा गएको ५ बर्षदेखि शाहले नेपाल एकिकरण गर्दा प्रयोग गरेका पदमार्गमा नेपाली सेनाले पदयात्रा गरी पदमार्गको प्रचार–प्रसार पनि गरिरहेको छ, उहाँले भन्नुभयो, ‘‘इतिहासलाई अव इतिहास मात्र होइन सम्बृद्धि र जनताको सुन्दर भविस्यका लागि उपयोग गर्नसक्नुपर्छ ।’’
उहाँले नेपाल एकिकरणको इतिहासलाई सवै क्षेत्रबाट जोडेर प्रचार–प्रसार गर्दै यसलाई उपयोग गर्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत औल्याउनुभयो । कार्यक्रममा नागरिक समाजका अगुवा मोहनलाल श्रेष्ठले राजनीतिक परिवर्तनका घटनाक्रम चलिरहने भएपनि इतिहासलाई कहिल्यै मर्न दिन नहुने बताउनुभयो ।
‘‘जसले मुलुकका लागि इतिहासका लागि काम गर्छ तिनलाई स्मरण र सम्मान गरिरहनुपर्छ, उहाँले भन्नुभयो,‘‘यसले मुलुक सञ्चालन गर्नेहरुलाई आफु जिम्मेवारीमा रहेका बेला सकारात्मक गर्नुपर्छ पर्ने प्रेरणा समेत पैदा गर्दछ ।’’ कार्यक्रमको अवसरमा ठूलो आँगनमा रहेका राष्ट्रनिर्माता शाहको सालिकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राष्ट्र निर्माता सलामी दिएका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले शाहको सालिकमा माल्र्यापण गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान समेत गर्नुभएको थियो । पृथ्वीजयन्तीको अवसरमा विहान गोरखा सदरमुकाममा बाँजागाँजा सहित प्रभातफेरी समेत निकालिएको थियो ।