गोरखा, २५ पुस । गोरखा जिल्लामा कार्यरत मनास्लु संरक्षण क्षेत्र एमक्याप आयोजनाको म्याद थप भएको छ । नेपाल सरकार मन्त्री परिषदको पौष ५ गते बसेको बैठकले एमक्यापको म्याद ०८५ साल असार मसान्तसम्म थप्ने निर्णय गरेको हो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कार्य क्षेत्र रहेको एमक्यापले उक्त क्षेत्रको संरक्षण र ब्यवस्थापनको काम हेर्दै आएको छ । ०७७ साल आसार १३ गतेदेखी म्याद सकिएको कार्यालयलको ढिला गरी सरकारले म्याद थपिदिएको हो । म्याद थप नहुदा कार्यालयका कर्मचारीहरुले नियमीत काम बाहेकका अन्य कामहरु केही गर्न पाएका थिएनन् ।
अब भने संरक्षण र ब्यवस्थापनका लागि कार्ययोजना बनाएर काम थाल्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । ‘लामो अन्यौलता पछि सरकारले म्याद थपेको छ’, उहाँले भन्नुभयो ‘म्याद थप संगै अब केही समय भित्रै संरक्षण क्षेत्रको ब्यवस्थापन योजना र संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पठाउन निर्देशन भएको छ ।’
संरक्षण क्षेत्रको ब्यवस्थापन योजना र संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पठाउन निर्देशन पनि अबको ४ महिना भित्रै पठाइसक्न पत्र आएको भन्दै प्रमुख शेरचनले कार्यायले योजना र नियमावली तथा निर्देशिका संशोधन प्रस्ताव तयारीको काम भई रहेको बताउनुभयो ।
त्यस क्षेत्रको प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचारप्रसार गर्दै आएको एमक्यापले पर्यटकलाई भ्रमण अनुमति दिने, राजस्व संकलन गर्ने, जडीबुटी विक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायतका कामहरु गर्दै आएको छ ।
२०५५ सालमा स्थापना भएको आयोजनाले उत्तरी गोरखाको कुल १ हजार ६६३ वर्ग किमि क्षेत्र ओगटेको छ । यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ ।
यो क्षेत्र ईस १९९१ पछि मात्र विदेशीहरूका लागि खुला गरिएको हो । पहिले पहिले गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्थ्यो । हिजो आज यो क्षेत्रको सिमामा सडक सञ्जाल पुगिसकेको कारण आधा समयमा नै यो क्षेत्रको भ्रमण सहजै गर्न सकिन्छ ।
यस क्षेत्रको उँचाइ समुन्द्र सहतदेखी ६०० मिटरदेखि संसारको आठौं अग्लो चुचुरो ८ हजार १६३ मिटरको मनास्लुसम्म फैलिएको छ । यही क्षेत्रमा लार्के भञ्ज्याङ ५ हजार १०६ मिटर नाघेर मनाङ प्रवेश गर्न सकिन्छ । यो क्षेत्रमा विश्वकै पबित्र श्रृंगी हिमाल, कल्छुमन ताल, बिरेन्द्र ताल, मु गुम्बा तथा राजेन गुम्बा पर्दछ ।
अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा नुब्रीपा र चुम्पा जातिहरूको बस्ती रहेको छ । करिब ९ हजार जति जनसंख्या रहेको त्यो क्षेत्रका अधिकासं समुदायले बौद्विष्ट धर्म मान्ने गर्दछन् । उनीहरूको रहनसहन तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ भने मुख्य पेशा पशुपालन तथा कृषिमा आधारित छ ।
हिउँदे मौसममा उनीहरू कामको खोजीमा तल्लो क्षेत्रमा झर्ने गर्दछन । यस संरक्षण क्षेत्रमा करिब २९ प्रजातिका स्तनधारी जन्तुहरू जस्तै– हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब ११० प्रकारका चराहरू र ३ प्रकारका सर्पजातिहरू एवं २०० भन्दा बढी हिमाली वनस्पतिहरू पाइन्छन् ।
साविकको ७ वटा गाविस सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाँउ मिलाएर अहिले ७ वटा वडा रहेको आयोजनाको कार्य क्षेत्र बनेको हो ।