काठमाडौं, २८ मंसिर । आज राति आकाशमा सर्वसाधरणहरूले मिथुन उल्का वर्षा भएको हेर्न सक्नेछन् । मंसिर १८ गतेदेखि सुरू भएको उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहनेछ । आज राति भने उक्त उल्कावर्षा अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो
। उहाँका अनुसार अत्यधिक सक्रिय भएको समयमा प्रतिघण्टा १५० वटा सम्म उल्का वर्षा भएको देख्न सकिन्छ । आज राति ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म सर्वसाधरणहरूले आकाशमा उल्का वर्षा भएको देख्न सकिने उहाँले बताउनुभयो ।
‘उल्कावर्षा हेर्न चाहने सर्वसाधरणले आफ्नो घरबाट वा बाहिर प्रकाश र प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन्,’ भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम रहन्छ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ।’
उल्कावर्षा हेर्नलाई कुनै दुरविन वा टेलिस्कोपको आवश्यक नपर्ने पनि उहाँले बताउनुभयो । ‘यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिन्छ,’ भट्टराईले भन्नुभयो, ‘उल्का वर्षको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो।’