कालीकोट, २५ साउन । शीघ्र कुपोषण भएकी शुभकालिका–८ पोरिवाडाकी १४ महिनाकी बालिका ललिता विश्वकर्माको आइतबार मृत्यु भएको छ । मुग्राहा स्वास्थ्य चोकीले शीघ्र कुपोषण पत्ता लगाएर पालिकाको स्वास्थ्य चौकी राराकाटिया हुँदै जिल्ला अस्पताल मान्म रेफर गरी पठाएकी बालिकाको अवस्था नसुध्रिएर मृत्यु भएको हो ।
गाउँबाट पालिका हुँदै जिल्ला अस्पताल पुर्याए पनि छोरी बचाउन नसकिएको बुबा रति कामीले बताए । गाउँको स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल लग्यौं । उनले भने, ‘त्यहाँबाट साउन ११ गते घर पठाइदिए ।’ जेठ ५ गतेबाट मान्म गएर कुपोषणको उपचार गरिए पनि छोरीको अवस्था नाजुक भएकाले बचाउन नसकेको आमा धनकौराले बताइन् । उनका ४ सन्तानमध्ये ललिता कान्छी हुन् । अरु पनि दुई छोरी र एक छोरा छन् । राराकाटिया पठाएको र त्यहाँबाट पनि अवस्था नाजुक भएकाले जिल्ला अस्पताल रेफर भएको स्वास्थ्यचौकीकी अनमी बलु शाहीले सुनाइन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले बालिकालाई कुपोषण भएको हुनसक्ने राराकाटिया स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र चौलागाईंले बताउनुभयो । उहाँले ढिलो स्वास्थ्य संस्थामा आएको र बालिकाले पनि आरयूटीएफ नखाएकाले जिल्ला अस्पताल मान्म रेफर गरेको जानकारी दिनुभयो ।