काठमाडौ,२३ साउन । वैदेशिक रोजगारीमा महिलाको आकर्षण बढेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार कामका लागि विदेश जाने महिलाकोे सङ्ख्या झण्डै ४७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा ७२ हजार १ सय ३४ जना महिला रोजगारीका लागि ८६ वटा देशमा गएका विभागले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ४९ हजार १ सय २८ जना महिला रोजगारीका लागि विदेश गएका थिए । विदेश जानेमा सबैभन्दा धेरै झापा जिल्लाका छन् भने धेरै महिला दुबई गएका छन् ।
नेपाली महिलाको दोस्रो ठूलो गन्तव्यमा कुबेत र तेस्रोमा मलेसिया रहेको छ । झापाबाट गत आर्थिक वर्षमा ५ हजार ९९१ जना महिला रोजगारीका लागि विदेश गएका छन् । दोस्रोमा मोरङ र तेस्रोमा सिन्धुपाल्चोकबाट महिला रोजगारीका लागि विदेश गएका विभागका निर्देशक तथा सूचना अधिकारी कबिराज उप्रतीले बताउनुभयो ।
विभागकाअनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै ७ लाख ७१ हजार भन्दा बढी नेपाली बैदेशिक रोजगारीमा गएका छन् ।