विराटनगर, १३ साउन । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–३ मा शुक्रबार साँझ ट्रकको ठक्करबाट सीटी सफारी चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको सुन्दरहरैँचा नगरपालिका ११४३ नम्बरको सीटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुर्घटनामा सफारी चालक सुन्दरहरैँचा–११ का अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको छ ।
साँझ ६ः४५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपु¥याउनसाथ चिकित्सकले साँझ ७ः५० बजेतिर मृत घोषित गरेका हुन् ।
दुर्घटनामा सफारीको पछाडि सवार सुन्दरहरैँचा–११ का अन्दाजी ४० वर्षीय कर्णवीर तामाङ घाइते भएका छन् । सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक र चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ४६ वर्षीय सोमबहादुर घलानलाई दुर्घटनालगत्तै प्रहरीले पक्राउ गरेको छ । सफारीको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सफारी चालकसँग लाइसेन्स ९सवारी चालक अनुमति पत्र० पनि नभएको पाइएको छ ।