जुम्ला, १८ असार । जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन् । आइतबार बिहान तातोपानी गाउँपालिका(४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ ।
उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिनुभयो । हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ।
हिक्मतविरूद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए। भरतले उक्त घर चार वर्षअघि बनाएका थिए। तर उनी जुम्ला बजारमा बस्छन् । उक्त घरमा भरतका साइँला भाइ तिर्थ र मुकुन्द बस्थे । तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए । घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो ।
भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए । त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए । ‘भाइले भगाएको भन्ने खबर पनि हामीलाई केटी पक्षले नै दिएको थियो। हाम्रो सम्पर्कमा दुबै छैनन्,’ भरतले भने, ‘केटी पक्षको सम्पर्कमा भने छन् । अन्तर्जातीय विवाह गरेकै कारणले उनीहरूले आगजनी गरिदिएका हुन् ।’
तातोपानी(४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २(३ बजे नै आगलागी सुरू भएको थियो । तरछिमेकीले ढिलो गरीमात्रै थाहा पाएका थिए । ‘अन्दाजी २ बजेतिर आगलागी भएको हुनुपर्छ। बिहान ४(५ बजेतिर मात्रै थाहा भयो,’ वडाध्यक्ष रोकायाले भने, ‘छिमेकी शौचालय जानलाई निस्किँदा घर जलिरहेको थाहा भयो ।’
त्यसपछि हल्ला भएपछि स्थानीय जम्मा भएका थिए । स्थानीयहरूले मिलेर आगोलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई पनि त्यसपछि पौने ६ बजेतिरमात्रै जानकारी गराइएको थियो । पक्राउ परेका हिक्मतले पनि आफैंले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । ‘विवाहकै कारणले आगजनी गरेको भनेर हामीसमक्ष प्रारम्भिक रूपमा भनेका छन्,’ डिएसपी कार्कीले भन्नुभयो । यता मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किशोरी भने सम्पर्कविहीन छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।