जनकपुरधाम, १५ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं। ८ मा अज्ञात समूहद्वारा आगजनीको प्रयास भएको छ । गत राति करिब १२ देखि २ बजेको बीचमा अज्ञात समूहद्वारा सीतानगरस्थित रहेको वडा कार्यालयको भवनको ढोकामै मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीका अनुसार वडा कार्यालयको ढोकामा लगाइएको ताल्चा समेत फोड्ने प्रयास भएको थियो । यसका बाबजुद वडा कार्यालयमा ठुलो क्षति नपुगेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।