Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

नाम्चे बजारमा पनि गर्मी बढ्यो


1.2K
Shares

नाम्चे बजारमा पनि गर्मी बढ्यो

सोलुखुम्बु, २६ जेठ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि अघिल्ला वर्षहरूभन्दा गर्मी महसुस हुन थालेको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू बताउँछन् ।

एक सातादेखि लगातार टन्टलापुर घाम लाग्दा गर्मी बढेको हो । सधैं शीतल र जाडो हुने नाम्चेमा दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेपछि स्थानीयहरूको दैनिक कामकाज पनि प्रभावित बनेको छ ।

‘बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चर्को घाम लाग्छ, तापक्रम १२ डिग्रीसम्म पुग्छ,’ स्थानीय व्यायसायी लामाकाजी शेर्पाले भने । यो सिजनमा अघिल्ला वर्षहरुमा औसत तपक्रम ४–५ डिग्री सेल्सियस हुने नाम्चेबजारमा यस पटक १२ डिग्रीसम्म पुगेपछि अहिलेसम्मकै अधिक गर्मी भएको हो । स्थानीयहरूका अनुसार अत्यधिक गर्मीका कारण दिउँसोको समयमा मान्छेहरु घर बाहिर निस्कने गरेका छैनन् ।

समुन्द्र सतहबाट ३४ सय मिटरको उचाईमा रहेको नाम्चेमा समेत गर्मी बढेपछि नियमित कृषि कर्ममा समेत असर परेको स्थानीय छिमिकाल्देन शेर्पा बताउँछन् ।

‘अहिले आलु गोड्ने सिजन हो, मान्छेहरु दिउँसो घरबाहिर निस्कने अवस्था समेत नभएकाले बारिमा जान निकै कठिन छ,’ शेर्पाले भने ।
आरोहणको सिजन लगभग सकिए पनि अहिले दैनिक १५–२० जना विदेशी पर्यटक नाम्चे पुग्ने गरेका छन् । उच्च भेगमा यति धेरै तापक्रम हुँदा विदेशीले पनि अधिक गर्मी महसुस गरेका छन् ।

यस्तै नाम्चेमा तत्काल अधिक वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हल्का वर्षाको संकेत देखिए पनि तापक्रम घट्ने गरी पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology