Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम


1.2K
Shares

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

चितवन,२२ जेठ । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना(टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ ।

झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन एकेडेमीले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम दिएको हो ।

‘विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र हाम्रो संस्कृति र परम्पराको जर्गेनासमेत हुने ठानेर तालिम आयोजना गरिएको हो,’ विद्यालयका प्राचार्य टेकराज अधिकारीले भन्नुभयो ।

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु यो तालिममा सहभागी छन् । तालिम अभिभावकहरू आमाहरू ले दिएका छन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी हाम्रै आमाहरुले आएर तालिम दिनुभएको छ, विद्यार्थीहरु निकै उत्साहित छन्,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजा लगायतका धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ, अहिलेको नयाँ पुस्तालाई हामीले यो ज्ञान नसिकाए हराउँदै जाने खतरा पनि देखियो ।’

दुनाटपरी बनाउने र कपासका बत्ती कात्ने तालिममा छात्रहरूभन्दा बढी छात्राहरू उत्सुक देखिएको प्राचार्य अधिकारीको भनाइ छ । तालिममा ९६ जना छात्रा र १४ जना छात्र सहभागी छन् । ‘सालको पात टपरी हुने भन्ने गीत मात्रै सुनेका अहिलेका बालबालिकाहरुले सालको पातबाट कसरी टपरी बनाउन सकिन्छ भनेर आफ्नै आँखा अगाडि देख्न र सिक्न पाए,’ विद्यालयका प्राचार्य अधिकारीले भन्नुभयो, ‘साना(साना बालबालिकालाई सिकाउन पाउँदा अभिभावकहरू पनि खुसी हुनुभएको छ, सिप जीविकोपार्जनका लागि टेवा दिने खालको पनि छ ।’

उहाँले तालिमबाट उत्कृष्ट तीन विद्यार्थीलाई छनौट गरेर पुरस्कृत गरिने बताए । बजारबाट सालको पात र सिन्का किनेर ल्याएर घरमा आफैंले दुना टपरी बनाउन सक्ने गरी विद्यार्थीलाई सिकाइने उहाँको भनाइ छ ।

विद्यालयले दुना, टपरी बनाउने र बत्ती कात्ने तालिमलाई विद्यालयको शैक्षिक क्यालेण्डरभित्रै समावेश गरेको छ । आउने दिनमा सेलरोटी पकाउने र च्याउ खेती गर्ने तालिम दिने योजनासमेत रहेको विद्यालयका प्राचार्य अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology