Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना


1.1K
Shares

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना
गोरखा, १० जेठ । सुन्तला उत्पादनका हिसावले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । शहीद लखन गाउँपालिका–२, स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देस्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिनुभयो ।
‘मनकामनाको सुन्तला भन्ने बित्तिकै ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गर्दछ, उहाँले भन्नुभयो, सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचारप्रसार गरि कृषकहरुलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नका लागि सुन्तलाकै प्रतिमा स्थापना गरिएको हो ।’
मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनकामना सुन्तलाको पनि पकेट क्षेत्रको रुपमा रहेको जानकारी गराउन पनि प्रतिमा निर्माण सहयोग पुग्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानहरुलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाई छ । उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले करिब ६ लाख रुपैयाको लागतमा ढाँटबारीमा सुन्तलाको प्रतिमा निर्माण गरेको उहाँले बताउनुभयो ।
स्थानीबासीले बसपार्कमा निशुल्क उपलब्ध गराएको जग्गामा प्रतिमा निर्माण भएको वडाध्यक्ष थापा मगरले बताउनुभयो । ‘सुन्तलाको अझै उत्पादन बढाउन सके यहाँका किसानहरुको आर्थिक स्तरमा थप बृद्धि गर्न सकिन्छ, उहाँले भन्नुभयो, ‘त्यसका लागि कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नु आबश्यक छ ।’
गोरखाको मनकामना स्थित ढाँटबारी क्षेत्रका किसानहरुले बार्षिक करिब एक करोड रुपैया भन्दाबढी मूल्यको सुन्तला बिक्रि गर्दै आएका छन् । मनकामनाको सुन्तलो अन्य क्षेत्रमा उत्पादन हुने सुन्तला भन्दा बढी स्वादिलो र रसिलो हुने मानिन्छ ।
ढाँटबारी गाउँलाई सुन्तलाको गाउँको रुपमा परिचित गराउने प्रतिमा निर्माण गरिएको गोरखा उद्योग बाणिज्य संघ मनकामना बजार इकाईका अध्यक्ष हरी श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्मित प्रतिमाको गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ र वडा अध्यक्ष थापामगरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology