Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

अन्नपूर्णमा बेपत्ता भएका आरोहीको तीन दिनपछि जीवितै उद्धार


1.2K
Shares

अन्नपूर्णमा बेपत्ता भएका आरोहीको तीन दिनपछि जीवितै उद्धार

बेनी, ७ वैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको तीन दिनपछि जीवितै उद्धार गरिएको छ।

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बिहीबार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन्। सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागांईले जानकारी दिए।

‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ,’ उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ। मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो। काठमाडौं लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।

अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो। हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए। बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।

अन्नपूर्ण संसारको दशौं अग्लो हिमाल हो। विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology