गोरखा, १५ फागुन (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री रुपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताउनु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६ औं दिलबहादुर रम्मेत स्मृति दिवसको अबसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहाँले बिकास निर्माणका ठूला परियोजना र सुशासन मार्फत आफ्नो तेस्रो कार्यकाल आगामी पिढीले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
‘नेपालको अहिलेको अर्थतन्त्रलाई अझबढी संकट तर्फ जान नदिने र सुधार तर्फ लैजाने साह्रै ठूलो दायित्व बर्तमान सरकारको काँधमा छ, उहाँले भन्नुभयो, ‘सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडी छ मैले त्यसको थालनी गरिसकेको छु ।’ प्रधानमन्त्री दाहालले सुशासन र सम्बृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसदमा आफुले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताउनुभयो ।
उहाँले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुशीको कुरा भएको बताउनुभयो । देशमा सुशासन स्थापना गर्न उच्च स्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनाबश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्यायी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्री दाहालको भनाई छ ।
प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन सुशासन तथा सम्बृद्धिका निम्ति र देशको बिकासका निम्ति खर्च गर्ने प्रतिबद्धता दोहो¥याउदै त्यसका लागि सवै नेपाली जनताको साथ चाहिएको उल्लेख गर्नुभयो । अर्को फरक प्रसंगमा प्रधानमन्त्री दाहालले यहीँ फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफु लागि परेको बताउनुभयो । ‘अहिले पनि नेकपा एमालेसंग लगातार कुरा भइरहेको छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ, त्यो कोसिस पनि हामी गरिरहेका छौ ।’
उहाँले त्यसो हुन नसकेपनि नयाँ राजनीतिक यात्रा स्थायित्व र बिकासका निम्ति अझ सहयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले निर्वाचनमा मत माग्ने क्रममा गोरखाका कच्ची सडकलाई स्तरोन्नती गर्ने, कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे अनुसार त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभयो । उहाँले प्रधानमन्त्रीमा निर्वाचित भएपछि गोरखाका जनतालाई पहिलो पटक भेट्न पाएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलकी आमा चरिमाया रम्तेल र बुबा सेते रम्तेल लगायतका शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो । बि.स २०५२ साल फागुन १४ गतेका दिन सुर्यज्योती माविका शिक्षक बिरबहादुर गुरुङलाई तत्कालिन प्रहरीले गिरफ्तार गरेपछि शिक्षकलाई छुटाउन भन्दै बिरोध प्रर्दशनमा उत्रिएका बेला प्रहरीले चलाएको गोली लागेर १० बर्षिया रम्तेलको मृत्यु भएको थियो ।