गोरखा, १४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा (ख) का उमेद्वार सुरेन्द्रराज पाण्डेले संबिधानसभा, गणतन्त्र लगायतका उपलब्धी गलत हो भन्नेहरुले मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गलत भन्न सक्ने बताउनु भएको छ । निर्वाचन प्रचारप्रसारका लागि मतदाता भेटघाट गर्ने क्रममा आइतबार आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै उहाँले गणतन्त्र र संबिधानसभा ठिक, प्राप्त राजनीतिक उपलब्धी ठिक भन्नेहरुले त्यही ल्याउने महानायकहरुलाई गलत भन्न नसक्ने बताउनुभयो ।
उहाँले शान्ति सम्झौतालाई स्विकार गरेर मुलुक अघि बढीसकेपछि फेरी हिजोका द्धन्द्धका घाउँहरुलाई कोट्याएर रगत निकाल्न थालिए त्यो राजनीतिमा अग्रगमनको यात्रा नठहरिने उल्लेख गर्नुभयो । ‘असन्तुष्टीको स्वर निकालिरहेका मेरा पाटीका साथीहरुलाई म ठन्डा दिमागले सोच्न आग्रह गर्दछु, हामीले सात सालमा संबिधानसभा मागेको होइन ? त्यो ६४ सालमा पुरा भयो के त्यो गलत थ्यो ? मुलुकालाई शान्ति प्रक्रिया लैजानु गलत थियो ? उमेद्वार पाण्डेले भन्नुभयो, गलत थिएन भने परिवर्तन ल्याउने नायकहरु कसरी गलत हुन् सक्छन् ।
उहाँले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला शान्तिका महानायक भनिए जस्तै अर्का हस्ताक्षरकर्ता प्रचण्ड पनि शान्तिको महानायक नै भएको बताउनभयो । ‘हाम्रा नेता गिरिजाप्रसाद कोइराला शान्तिका महानायक हो भनेर हामी भन्छौ, उहाँले भन्नुभयो ‘तपाई काग्रेसका साथीहरु सवैजनाले सम्झिनुस्, एउटा पाना जहाँ शान्ति सम्झौता भयो त्यसको दाहिने पट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभयो, त्यसको देब्रेपट्टी पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभयो, दाहिने पट्टी हस्ताक्षर गर्ने कोइरालालाई महानायक भन्दा देव्रेपट्टी हस्ताक्षर गर्ने प्रचण्डलाई खलनायक भन्न सक्छौ सक्दैनौ ।’
उहाँले गिरिजाप्रसाद कोइराल र प्रचण्ड दुबै शान्ति प्रक्रियाको नायक भएको बताउनुभयो । ‘गिरिजाप्रसाद कोइरालाले नचाहेको भएपनि शान्ति आज आउन सक्दैनथ्यो, उहाँले भन्नुभयो, माओवादीका नेता प्रचण्डले नचाहेको भएपनि आज यो मुलुकमा शान्ति हुन सक्दैनथ्यो, यो स्थिरता हुदैनथ्यो ।’ उहाँले अहिले काग्रेसका सवै नेता कार्यकर्ताले आफू भित्रका असन्तुष्टीलाई बिर्सेर मुलुकको बृहत्तर हितलाई ध्यानमा राखी माओवादी अध्यक्ष प्रचण्डलाई निर्वाचन जिताउन लाग्नुपर्ने बताउनुभयो ।
‘हिजो हामी दुई शक्ति काग्रेस र माओबादी आमन्नेसामन्ने भएकै हो, केन्द्रीय सदस्य पाण्डेले भन्नुभयो, ‘तत्कालिन राज्य सञ्चालन गरेको नेपाली काग्रेस र बिद्रोहको नेतृत्व गरेको माओबादी लडेकै हो, त्यो इतिहास हो, लडाइको घाँउ काग्रेस र माओबादीका साथीहरु दुबैलाई छ, द्धन्द्धको चपेटा दुवै तर्फका परेका हौ अब खाटो बसेका घाउँलाई कोट्याउन हुन्न ।’