गोरखा, १२ कात्तिक । आफ्नो क्षेत्र गोरखा २ घरदैलोमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धि नै गठबन्धनको अभियान भएको बताउनु भएको छ । शनिबार बिहान भिमसेन थापा गाँउपालिका वडा नं. १ ध्याम्पेसालमा आयोजित घरदैलो कार्यक्रममा बोल्नु हुदै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । ‘म फेरी पनि भन्छु सुशासन र समृद्धि नै हाम्रो अभियान हुनेछ ,’ उहाँले भन्नुभयो ‘म गोरखा आउनुको उदेश्य नै यहाँबाट एउटा बिकासको मोडल राष्ट्रिय रुपमा नै दिन सकिन्छ र दिनु पर्छ भनेर हो ।’
माओवादी विद्रोहीसँग सम्बन्धित कुरा होस् चाहे नेपाली कांग्रेस, सेना, प्रहरी सँग जो जो पिडित छन् सबैलाई सम्मान रुपले हेर्ने र व्यवहार गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनयुद्धका बेला पिडित बनेका कांग्रेसका परिवारहरु सँग भेट्न चाहेको इच्छा जाहेर गर्नुभयो । आगामी दिनमा सबैसँग सहकार्य र समानताको व्यवहार गर्दै बिकास र समृद्धीको यात्रामा अघि बढ्ने प्रचण्डको भनाई छ ।
उहाँले गोरखा कृषिमा सुधार र क्रान्तिको लागी एउटा उपयुक्त जिल्ला भएको आफुले ठानेको बताउनुभयो। पछिल्लो पटक भेटघाट लागी आउँदा आयोजना गरेको कार्यक्रम बारे आफुलाई जानकारी नभएको तर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको कुरालाई स्मरण गर्दै उहाँले अहिले पनि भेटघाट र परिचयका लागि मात्रै आएको बताउनुभयो । पार्टीका गोरखा जिल्ला संयोजक बिष्णुप्रसाद भट्टका अनुसार आज भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट सुरु भएको घरदैलो तथा मतदातासंग भेट गर्ने कार्यक्रम बारपाक सुलिकोट गाउँपालिकाको गैह्रीछाप पन्द्रुङ, जराङ स्वाँरा हुदैँ भच्चेकसम्म रहेको छ ।
त्यस्तै भोली १३ गते सिरानचोक गाउँपालिकाको चिप्लेटी, चित्रेपोखरी थुम्की मैदान, चोरकोटे, पालुङटार नगरपालिकाको खोप्लाङ, सातदोबाटे, बागडाँडा हुदै नयाँपुलसम्मका मतदातासंग भेट गर्ने जिल्ला संयोजक भट्टले जानकारी दिनुभयो । प्रचण्ड सँगै गोरखा क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि हुनुहुन्छ। यस्तै गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डेपनि उहाँहरु सँगै मतदाता भेटघाट कार्यक्रममा छन् ।