Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका ४६ उम्मेदवारमध्ये ४१ जना ‘ग्रीन जोन’मा


1.5K
Shares

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका ४६ उम्मेदवारमध्ये ४१ जना ‘ग्रीन जोन’मा

काठमाडौं, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये काठमाडौं क्षेत्र नम्बर १० बाट माओवादीबाट अन्जना विशंखेले गठबन्धनबाहिरबाट एकल उम्मेदवारी दिएकी छन् । त्यसैले माओवादीबाट ४५ जनाले मात्रै गठबन्धनबाट उम्मेदवारी दिएका छन् । तीमध्ये ४१ जना मात्रै ‘ग्रीन जोन’मा देखिएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा गठबन्धनको साथबाट माओवादी केन्द्रका ४२ जना उम्मेदवार ग्रीन जोनमा परेका छन् । अरु ३ जना भने गठबन्धन हुँदाहुँदै पनि कमजोर देखिएका छन् । काठमाडौं–१० बाट माओवादीको एकल उम्मेदवारी भएकाले वडा अध्यक्षको मत केलाउँदा कमजोर देखिनुलाई स्वाभाविकै रुपमा लिएको छ ।

प्रदेश–१ मा ७ उम्मेदवारमध्ये ४ जनामात्रै ‘ग्रीन जोन’मा

प्रदेश १ अन्तर्गत २८ प्रतिनिधिसभामा क्षेत्रमध्ये माओवादीले ७ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । जसमध्ये ताप्लेजुङका खेलप्रसाद बुढाथोकी र झापा हरिकुमार रानामगर गठबन्धन हुँदाहुँदै पनि रेडजोनमा देखिएका छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार पाएको मत केलाउँदा एमालेका उम्मेदवारभन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका दुई जना तुलनात्मक रुपमा कमजोर देखिएका हुन् ।

ताप्लेजुङबाट सत्ता गठबन्धन अन्तर्गत माओवादीका खेलप्रसाद बुढाथोकीले उम्मेदवारी दिएका छन् भने एमालेबाट योगेशकुमार भट्टराई उम्मेदवार छन् । यसअघि यो क्षेत्रमा वाम गठबन्धनबाट भट्टराई निर्वाचित भएका थिए ।
ताप्लेजुङका नौ स्थानीय तह छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेको पक्षमा बढी देखिएको छ । त्यसैले बुढाथोकी भट्टराईभन्दा कमजोर देखिएका हुन् ।

स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २४ हजार २९५ मत पाएका थिए । त्यसैगरी कांग्रेसले १८ हजार २८४, माओवादी केन्द्रले ४ हजार ४९७, नेकपा एकीकृत समाजवादीले एक हजार ३०८ र जसपाले ९२३ मत पाएको थियो । यहाँ सत्तारुढ गठबन्धन घटकको सबै दलको मत जोड्दा पनि एमालेको तुलनामा कम नै हुन्छ ।

​यस्तै झापा–२ बाट माओवादीका हरिकुमार रानामगर सत्तारुढ गठबन्धनबाट उम्मेदवार छन् । यहाँ एमालेबाट देवराज घिमेरे मैदानमा उत्रिएका छन् । यस क्षेत्र अन्तर्गत अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका अन्तर्गत १, २, ३ वडा, बिर्तामोड नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६, ७, ८, ९ वडा, कन्काई नगरपालिका अन्तर्गत ८ र ९ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा एमालेकै उम्मेदवार बलियो देखिएका छन् ।

ती वडामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ३६ हजार ३९६ मत पाउँदा नेपाली कांग्रेसले ३२ हजार ६७२, राप्रपाले ९ हजार ५३१, माओवादी केन्द्रले २ हजार ४३७, जसपाले ५०६ र नेकपा एकीकृत समाजवादीले १७३ मत पाएको छ । यो क्षेत्रमा एमाले एक्लै सत्तारुढ गठबन्धनभन्दा भारी देखिन्छ ।

यस्तै भोजपुरबाट माओवादीका सुदन किराती उम्मेदवार छन् । यहाँ एमालेबाट शेरधन राई उम्मेदवार छन् । किराती र राईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, स्थानीय तहको मत परिणाम अनुसार सत्तारुढ गठबन्धन केही भारी देखिन्छ ।

भोजपुरमा ९ स्थानीय तह छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेको २७ हजार ६५६ मत छ । यस्तै, कांग्रेसको २३ हजार ५९९, माओवादी केन्द्रको १४ हजार ७६१, नेकपा एकीकृत समाजवादीको एक हजार ९४५ र जसपा नेपालको एक हजार ६४५ मत छ । यस आधारमा भोजपुरमा सत्तारुढ गठबन्धनको मत धेरै देखिन्छ ।

खोटाङबाट माओवादी केन्द्रका नेता रामकुमार राई उम्मेदवार छन् । यहाँ एमालेबाट विशाल भट्टराईले उम्मेदवारी दिएका छन् । यस क्षेत्र अन्तर्गत १० स्थानीय तह छन् । ती स्थानीय तहमा वडा अध्यक्षको मत केलाउँदा गठबन्धका उम्मेदवार राई अघि देखिएका छन् ।

यहाँ स्थानीय तहको निर्वाचनमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २८ हजार ७९७, कांग्रेसले २६ हजार ६३३, माओवादी केन्द्रले १८ हजार ७३६, जसपाले २ हजार ९१६, नेकपा एकीकृत समाजवादीले २ हजार १४४ मत पाएका छन् ।

सुनसरी–१ मा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा सत्ता गठबन्धनबाट र एमाले–जसपा गठबन्धनबाट जसपाका अशोककुमार राई उम्मेदवार छन् । तर माओवादी उम्मेदवार सुब्बा ‘रेड जोन’मा देखिन्छन् ।
यस क्षेत्र अन्तर्गत धरान उपमहानगर, रामधुनी नगरपालिका अन्तर्गत ६, ७ वडा र बराह नगरपालिका अन्तर्गत १, २, ३, ४, ५ वडा छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेले ३३ हजार ४५३, कांग्रेसले २६ हजार ६६४, माओवादीले ७ हजार १८, जसपाले ५ हजार ८१९ र राप्रपाले ४ हजार ७४ मत पाएको छ । एमाले र जसपाको मत मिलाउँदा सत्तारुढ गठबन्धनका उम्मेदवार निकै पछाडि देखिन्छन् ।

यस्तै मोरङ–४ बाट माओवादीका नेता अमनलाल मोदी उम्मेदवार छन् । यस क्षेत्रमा एमालेबाट विनोदप्रसाद ढकालले जसपाको सहयोगमा उम्मेदवारी दिएका छन् । यहाँ लोसपाबाट लक्ष्मण साह पनि उम्मेदवार छन् ।
यस क्षेत्र अन्तर्गत कटारी नगरपालिका, ग्रामथान गाउँपालिका, बेलवारी नगरपालिका अन्तर्गत ५, ६, ७ वडा, विराटनगर महानगर अन्तर्गत १, २, ३, ८, १०, १९ वडा पर्छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा माओवादी केन्द्रका मोदी अगाडि देखिएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्र अन्तर्गतका वडामा एमालेले २५ हजार ७३०, कांग्रेसले २१ हजार ८९४, माओवादीले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र नेकपा एकीकृत समाजवादीले एक हजार २५५ मत पाएको थियो ।

मोरङ–५ बाट माओवादी नेता शिवकुमार मण्डल र जसपाबाट राजकुमार यादवले उम्मेदवारी दिएका छन् । मण्डललाई सत्ता गठबन्धनले सघाएको छ भने यादवलाई एमालेको सहयोग छ ।
यस क्षेत्र अन्तर्गत धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रंगेली नगरपालिका अन्तर्गत ४, ५, ६, ७ वडा, विराटनगर महानगर अन्तर्गत १३, १४, १५, १६, १७, १८ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा जसपाका यादवभन्दा माओवादी केन्द्रका मण्डल केही अगाडि देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, जसपाले १३ हजार २४९, माओवादीले ११ हजार ६२८, राप्रपाले एक हजार ८८७, लोसपाले ७५२ र नेकपा एकीकृत समाजवादीले ६०८ मत पाएको थियो ।

मधेस प्रदेशमा ७ उम्मेदवार, रौतहट–३ मा प्रभु साहलाई सघाउने

मधेस प्रदेशका ८ जिल्ला अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ निर्वाचन क्षेत्र कायम छन् । जसमा माओवादीले ७ जनालाई उम्मेदवार बनाएको छ । यस अतिरिक्त माओवादी केन्द्रले रौतहट–३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सघाउने भएको छ ।

सिरहा–३ मा माओवादी केन्द्रका विश्वनाथ साह उम्मेदवार छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएका साह पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । यहाँ एमालेबाट लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठलाई जसपाले समर्थन गरेको छ ।

यस क्षेत्र अन्तर्गत सिराह नगरपालिका, गोलबजार नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ वडा, नरहा गाउँपालिका अन्तर्गत १, २ वडा, विष्णुपुर गाउँपालिका अन्तर्गत १, ५ वडा, अरनामा गाउँपालिका अन्तर्गत १, २, ३ वडा पर्छन् ।

यी वडामा गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मत केलाउँदा माओवादी केन्द्रका उम्मेदवार कमजोर देखिएका छन् । यहाँ एमालेको २० हजार ३२८, कांग्रेसको १८ हजार २६, जसपाको १४ हजार ८९३, माओवादी केन्द्रको ९ हजार ४८१, नेकपा एकीकृत समाजवादीको ६ हजार २७४, जनमत पार्टीको एक हजार ५७७, राप्रपाको ९५४ र लोसपाको २५८ मत देखिन्छ ।

धनुषा–१ मा माओवादीका मातृकाप्रसाद यादवले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका यादव यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा जसपाबाट दिपक कार्कीले र जनमत पार्टीबाट किशोरी साह उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धनको साथ छ भने कार्कीलाई एमालेले साथ दिएको छ । यस क्षेत्रमा यादव र कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

​यस क्षेत्र अन्तर्गत गणेशमान चारनाथ नगरपालिका, सवैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका अन्तर्गत ४ वडा, क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत ८, ९ वडा, मिथिला बिहारी नगरपालिका अन्तर्गत १, ३, ४, ५ वडा, हंशपुर नगरपालिका अन्तर्गत २, ३, ५, ७, ८ वडा पर्छन् । ती वडामा दलगत रुपमा पाएको मत केलाउँदा माओवादी उम्मेदवार यादव सुरक्षित देखिएका छन् ।

यी वडामा कांग्रेसले १८ हजार ५१४, एमालेले १६ हजार ५८१, माओवादीले १२ हजार ३४३, जसपाले ९ हजार २०, लोसपाले ६ हजार ६२४, राप्रपाले ४ हजार ९४६, जनमत पार्टीले ३ हजार ३२० र नेकपा एकीकृत समाजवादीले २ हजार ९३७ मत पाएको छ ।

महोत्तरी–१ बाट माओवादी नेता गिरिराजमणि पोखरेलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेल यही क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचित हुँदै आएका छन् । यो क्षेत्रमा एमालेबाट लक्ष्मी महतो, जनमत पार्टीबाट राजकिशोर साह उम्मेदवार छन् । एमाले उम्मेदवार महतोलाई जसपाले समर्थन गरेको छ ।

यस क्षेत्र अन्तर्गत बर्दिवास नगरपालिका, गौशाला नगरपालिका र भँगाहा नगरपालिका अन्तर्गत ३, ४, ५, ९ वडा पर्छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा माओवादी केन्द्रका पोखरेल निकै अगाडि हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा माओवादीले १५ हजार ८८८, कांग्रेसले १३ हजार १४६, एमालेले ८ हजार ३४, जसपाले ७ हजार २३४, लोसपाले ७ हजार ६९, नेकपा एकीकृत समाजवादीले एक हजार ५०८ र राप्रपाले ४७८ मत पाएको छ ।

सर्लाही–२ बाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव उम्मेदवार छन् । उनले माओवादी केन्द्रकै चुनाव चिह्न लिएर सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका हुन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा लोसपा नेता राजेन्द्र महतो देखिएका छन् । यादव र महतो यसअघि एउटै पार्टीमा रहेर काम गरेका थिए । यो क्षेत्रमा एमालेबाट राजनारायण साहले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका, हरिपुर्वा नगरपालिका, पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, विष्णु गाउँपापलिका अन्तर्गत ५, ६, ७, ८ वडा, कविलासी नगरपालिका अन्तर्गत ८, ९, १० वडा र ईश्वरपुर नगरपालिका अन्तर्गत १५ वडामात्रै पर्छ । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा यादव नै बलियो देखिएका हुन् ।

वडा तहको मतअनुसार यहाँ कांग्रेसको २४ हजार ६२०, जसपाको १९ हजार ६४२, लोसपाको १२ हजार ३६६, माओवादीको ७ हजार ७३७, एमालेको ७ हजार ६७९, जनमत पार्टीको ३ हजार ४२ र नेकपा एकीकृत समाजवादीको २ हजार २२१ मत छ ।

यस्तै सर्लाही–३ मा माओवादीका नरेन्द्र साह उम्मेदवार छन् । यसअघि निर्वाचित रामेश्वर राय यादवले चुनाव लड्ने इच्छा नदेखाएपछि साहले मौका पाएका हुन् । यहाँ एमालेबाट हरिप्रसाद उप्रेती उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धन र उप्रेतीलाई जसपाले सघाएको छ ।

यस क्षेत्र अन्तर्गत हरिवन नगरपालिका, बागमती नगरपालिका, चक्रघट्टा गाउँपालिका, हरिपुर नगरपालिका अन्तर्गत १ वडा, कविलासी नगरपालिका अन्तर्गत ३, ४, ५, ६ वडा, बरहथवा नगरपालिका अन्तर्गत ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १८ वडा, वसबरिया गाउँपालिका अन्तर्गत ४, ५, ६ वडा पर्छन् । यस क्षेत्र अन्तर्गतका वडा अध्यक्ष पदका उम्मेदवारको मत केलाउँदा सत्तारुढ गठबन्धन बलियो देखिन्छ ।

स्थानीय तह निर्वाचन परिणामअनुसार यस क्षेत्रमा एमालेको २३ हजार ९६, कांग्रेसको २२ हजार ७६२, माओवादी केन्द्रको २१ हजार ८६, जसपाको १३ हजार ४६, नेकपा एकीकृत समाजवादीको ३ हजार ५५४, लोसपाको एक हजार १६६ र राप्रपाको एक हजार १०३ मत देखिन्छ ।

बारा–२ मा माओवादी नेता शिवचन्द्रप्रसाद कुशवाह र जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यादवलाई एमालेले सघाएको छ भने कुशवाहलाई सत्ता गठबन्धनले सघाएको छ ।
यस क्षेत्र अन्तर्गत करैयामाई गाउँपालिका, महागढीमाई गाउँपालिका, पचरौता गाउँपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका र कोल्हवी नगरपालिका अन्तर्गत ८ वडामात्रै पर्छ । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा माओवादी उम्मेदवार कुशवाह तुलनात्मक रुपमा केही कमजोर देखिएका छन् ।

यहाँ कांग्रेसको २१ हजार ६५२, जसपाको २० हजार ८२४, एमालेको १७ हजार ९२९, लोसपाको ६ हजार ७१६, माओवादी केन्द्रको ४ हजार ६४० र नेकपा एकीकृत समाजवादीको ४ हजार १०५ मत छ ।

बागमतीका ३३ मध्ये १३ क्षेत्रमा उम्मेदवारी

यस प्रदेशमा ३३ प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रबाट १३ क्षेत्रमा मात्रै उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका १३ क्षेत्रमध्ये काठमाडौं–७ बाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले माओवादी केन्द्रकै चुनावचिह्न लिएर उम्मेदवारी दिएकी हुन् । काठमाडौं–१० मा अन्जना विशंखे भने सत्तारुढ गठबन्धन बाहिरबाट चुनावी प्रतिस्पर्धामा छिन् ।

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् । गठबन्धनका साझा उम्मेदवार कार्कीका मुख्य प्रतिस्पर्धीमा एमालेका बालकृष्ण शिवाकोटी छन् । दोलखाको ९ स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा गठबन्धनका उम्मेदवार तुलनात्मक रुपमा अगाडि देखिएका छन् ।

यहाँ स्थानीय तह निर्वाचनमा एमालेले ३९ हजार ५० मत पाएको थियो भने कांग्रेसले ३३ हजार ४३९, माओवादीले १७ हजार ३७५, नेकपा एकीकृत समाजवादीले ३ हजार १५१ र राप्रपाले एक हजार ५११ मत पाएको थियो ।
सिन्धुली–२ मा लेखनाथ दाहाल ‘राजन’ माओवादी केन्द्रबाट उम्मेदवार छन् । दाहालको प्रतिस्पर्धीका रुपमा एमालेका मनोजजंग थापाले उम्मेदवारी दिएका छन् । थापा पूर्वमाओवादी हुन् ।

सिन्धुली–२ अन्तर्गत सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिकापा र कमलामाइ नगरपालिकाका १ देखि १२ वडा पर्छन् । यस क्षेत्र अन्तर्गतका वडामा दलगत मत केलाउँदा गठबन्धन उम्मेदवार दाहाल बलियो देखिएका छन् ।

यस क्षेत्रका वडामा स्थानीय तह निर्वाचनमा एमालेले २१ हजार ४५५, माओवादीले १९ हजार ४८८, कांग्रेसले १९ हजार १२८, जसपाले ४१६, राप्रपाले ३०७ र नेकपा एकीकृत समाजवादीले ३५ मत पाएका थिए ।
नुवाकोट–१ मा माओवादीका हितबहादुर तामाङ उम्मेदवार छन् । तामाङको मुख्य प्रतिस्पर्धीका रुपमा एमालेबाट बद्री मैनाली उम्मेदवार छन् । यस क्षेत्र अन्तर्गत ७ स्थानीय तह पर्छन् । जसमा शिवपुरी, दुप्चेश्वर, पन्चकन्या, तादी, सूर्यगढी, लिखु, ककनी गाउँपालिका पर्छन् । ती पालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत अनुसार गठबन्धनका उम्मेदवार तामाङ सुरक्षित देखिएका छन् । वडा तहको मत परिणामअनुसार यहाँ कांग्रेसको २८ हजार ९६२, माओवादीको २३ हजार २००, एमालेको १८ हजार २६७, राप्रपाको ४ हजार ७८ र नेकपा एकीकृत समाजवादीको २ हजार २४५ मत छ ।

काभ्रे–१ मा सत्ता गठबन्धनका तर्फबाट माओवादीका सूर्यमान दोङ तामाङले उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्द्वीको रुपमा एमालेका रेशमबहादुर लामा उम्मेदवार छन् ।
यस क्षेत्र अन्तर्गत ९ स्थानीय तह पर्छन् । जसमा चौरीदेउराली, तेमाल, रोशी, महाभारत, नमोवुद्ध र खानीखोला गाउँपालिका पर्छन् । यस्तै, धुलिखेल नगरपालिका अन्तर्गत ८ देखि १२ वडा, पनौती नगरपालिका अन्तर्गत ४ देखि १० वडा र बेथानचोक गाउँपालिका अन्तर्गत ६ नम्बर वडा पर्छन् । ती वडा अध्यक्ष पदमा उम्मेदवारले गत स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा गठबन्धन उम्मेदवार दोङ बलियो देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसको ४० हजार १३६, एमालेको ३३ हजार ८४६, माओवादी केन्द्रको २४ हजार ३३१, नेकपा एकीकृत समाजवादीको २ हजार ३५४ र राप्रपाको ३९९ मत छ ।
सिन्धुपाल्चोक–१ बाट माओवादी केन्द्रका माधवप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी रुपमा एमालेका सरेश नेपालले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत ९ स्थानीय तह पर्छन् । जसमा त्रिपुरासुन्दरी, लिसंखु, पाखर, सुनकोसी, बाह्रबिसे, भोटेकोशी, जुगल, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतका २, ३, ४, ९, १० वडा पर्छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतका आधारमा सापकोटा बलियो देखिएका छन् ।

यहाँ कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ५९, माओवादीको १९ हजार ३४४, नेकपा एकीकृत समाजवादीको २ हजार ३११, राप्रपाको एक हजार २३९ मत रहेको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतबाट देखिन्छ ।

चितवन–३ बाट माओवादीका डा भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बनेर जितेको यो क्षेत्रमा गठबन्धनबाट अहिले अधिकारीले उम्मेदवारी दिएका हुन् । यहाँ एमालेले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन जनाएको छ । त्यसैले अब यस क्षेत्रमा अधिकारी र कोइरालाबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्र अन्तर्गतका स्थानीय तहका निर्वाचित वडा अध्यक्षको मत केलाउँदा एमालेसँग २९ हजार ७७१ मत छ । यस्तै, कांग्रेसको २९ हजार ३४३, माओवादीको १० हजार ९४०, राप्रपाको ६ हजार १९८ र नेकपा एकीकृत समाजवादीको ५ हजार ३७ मत छ ।

ललितपुर–३ बाट माओवादी केन्द्रकी पम्फा भुसालले उम्मेदवारी दिएकी छन् । संघीय सरकारकी ऊर्जा मन्त्री भुसालले गठबन्धनबाट उम्मेदवारी दिएकी हुन् । भुसालको प्रतिस्पर्धीको रुपमा एमालेका अमृत खड्का छन् ।
यस क्षेत्र अन्तर्गत ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ वडा मात्रै पर्छन् । स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्ने हो भने यहाँ गठबन्धनको अग्रता देखिन्छ ।

यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एकीकृत समाजवादीको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।
भक्तपुर–१ बाट माओवादी नेता सुनिल गोठेले उम्मेदवारी दिएका छन् । यहाँ नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र एमालेबाट नवराज गेलालले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेमकिपाको बलियो जनमत भएकाले सबै पार्टी मिल्दा पनि जित्ने नेमकिपालाई पराजित गर्ने अवस्था छैन ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा नेमकिपाले ३३ हजार ८९५ मत पाएको छ भने एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ ले मत पाएको छ । यहाँ माओवादीको एक हजार ३८८ मत छ ।

यस्तै, काठमाडौं–२ बाट माओवादीकी ओनसरी घर्ती उम्मेदवार छिन् । आफ्नो निर्वाचन क्षेत्र रोल्पा छोडेर घर्ती काठमाडौं–२ बाट उम्मेदवार भएकी हुन् । घर्तीको प्रतिस्पर्धीको रुपमा एमालेबाट मणिराम फुयालले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा एमाले पहिलो दल भए पनि गठबन्धन घटकका मत जोड्ने हो भने यहाँ पनि सत्तारुढ गठबन्धन नै हावी हुने देखिन्छ ।

यस क्षेत्र अन्तर्गत शंखरापुर नगरपालिका, कागेश्वरी नगरपालिका अन्तर्गत ४ देखि ९ वडा, काठमाडौं महानगरका ९ र ३२ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा एमालेको १७ हजार ३२८, कांग्रेसको १४ हजार १२८, नेकपा एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपाको ७ हजार २०० र माओवादीको ३ हजार १३१ मत छ ।

यस्तै काठमाडौं–३ बाट माओवादीका बद्रीप्रसाद बजगाई उम्मेदवार छन् । बजगाईको प्रतिस्पर्धीको रुपमा एमालेबाट कृष्णबहादुर राईले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा राईले वाम गठबन्धनबाट चुनाव जितेका थिए ।

यस क्षेत्र अन्तर्गत गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका अन्तर्गत १, २, ३ र काठमाडौं महानगर अन्तर्गत ६ नम्बर वडा पर्छन् । ती वडामा वडा अध्यक्षको मत केलाउँदा कांग्रेसको पक्षमा १५ हजार ७९५, एमालेको १४ हजार ८७६, माओवादीको एक हजार ७३०, राप्रपाको एक हजार ३१४, नेकपा एकीकृत समाजवादीको एक हजार ५६ मत छ ।

यस्तै काठमाडौं–७ बाट नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी छन् । यहाँ एमालेबाट श्यामकुमार घिमिरेले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट यसअघि एमालेबाट रामवीर मानन्धर विजयी भएका थिए । उनले हाल एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत काठमाडौं महानगर अन्तर्गत १६, १७, १८, २५ वडा, नागार्जुन नगरपालिका अन्तर्गत १, २, ३ वडा र तारकेश्वर नगरपालिका अन्तर्गत ३, ४, ५ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा गठबन्धनकै उम्मेदवार मानुषी बलियो हुने देखिएको छ ।

यहाँ कांग्रेसको १४ हजार १६७, एमालेको १२ हजार २०२, नेकपा एकीकृत समाजवादीको ३ हजार ८३९, राप्रपाको दुई हजार २७ र माओवादीको ५७६ मत छ ।
यस्तै काठमाडौं–९ बाट माओवादीकी कल्पना धमलाले उम्मेदवारी दिएकी छन् । यस क्षेत्रबाट २०७४ सालको चुनावमा कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । अहिले धमलाको प्रतिस्पर्धीको रुपमा एमालेबाट श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत काठमाडौं महानगरका १२, १४, २२ वडा, चन्द्रगिरी नगरपालिका अन्तर्गत १, १२, १३, १४, १५ वडा र नागार्जुन नगरपालिका अन्तर्गत ६, ७, ८, ९, १० वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतको आधारमा यहाँ कांग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१, माओवादीको ६९५ र नेकपा एकीकृत समाजवादीको ४६५ मत छ ।
यस्तै काठमाडौं–१० बाट कांग्रेस, एमाले र माओवादी लगायत दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनभित्र तालमेल हुन नसकेपछि माओवादी केन्द्रले छुट्टै उम्मेदवारी दिएको छ । यहाँ कांग्रेसबाट राजेन्द्र केसी, एमालेबाट हिमेश केसी र माओवादीबाट अन्जना विशंखेले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत दक्षिणकाली, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका अन्तर्गत २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ वडा पर्छन् । ती वडामा कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६ र नेकपा एकीकृत समाजवादीको एक हजार ३४२ मत छ ।

गण्डकी प्रदेशबाट प्रचण्डसहित चार उम्मेदवार

यस प्रदेश अन्तर्गत १८ निर्वाचन क्षेत्र छन् । जसमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट, देवप्रसाद गुरुङ लमजुङबाट, देवेन्द्र पौडेल बाग्लुङ–२ बाट र रामजीप्रसाद बराल कास्की ३ बाट उम्मेदवार छन् ।
गोरखा–२ बाट अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । स्थानीय तहको जनमत अनुसार यहाँ नेकपा माओवादी केन्द्र पहिलो पार्टी छ । त्यसमा पनि सत्तारुढ दलबीच गठबन्धन भएकाले प्रचण्डलाई चुनाव जित्न सहज देखिएको छ ।
यहाँबाट एमालेका अब्दुस मियाँले पनि उम्मेदवारी दिएका छन् । पार्टीबाट उठ्ने बलियो उम्मेदवार नभएपछि एमालेले नवप्रवेशी मियाँलाई उम्मेदवार बनाएको हो । यस क्षेत्र अन्तर्गत ५ स्थानीय तह पर्छन् । जसमा पालुङटा नगरपालिका, सिरानचोक गाउँपालिका, सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका वडा पर्छन् ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार माओवादीको २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ ।
यस्तै लमजुङबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङले गठबन्धनबाट उम्मेदवारी दिएका छन् । यसअघि पनि यसै जिल्लाबाट निर्वाचित गुरुङ दोस्रो पटक यहाँबाट उम्मेदवार बनेका हुन् । गुरुङको प्रतिद्वन्द्वीका रुपमा एमालेका पृथ्वी सुब्बा गुरुङले उम्मेदवारी दिएका छन् ।

तर, लमजुङका ८ स्थानीय तहको वडा अध्यक्षका मत केलाउँदा गठबन्धन उम्मेदवार देव गुरुङ अघि देखिन्छन् । यहाँ एमालेको ४० हजार १९७, कांग्रेसको ३५ हजार २७६, माओवादी केन्द्रको ६ हजार १२७, राप्रपाको एक हजार १८४ र जसपाको १९० मत रहेको स्थानीय तह निर्वाचन परिणामले देखाउँछ ।

बाग्लुङ–२ बाट माओवादीका देवेन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । संघीय सरकारका बहालवाला शिक्षा मन्त्री पौडेलको प्रतिस्पर्धीका रुपमा एमालेका मञ्जु शर्मा उम्मेदवार छिन् । जनमतमा माओवादी तेस्रो भएकाले गठबन्धनले साथ दिएमा मात्रै पौडेलले चुनाव जित्न सक्ने अवस्था छ ।

यस क्षेत्र अन्तर्गत ६ स्थानीय तह पर्छन् । जसमा गलकोट नगरपालिका, ढोरपान नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाढ गाउँपालिका, तमानखोला र निसिखोला गाउँपालिका छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतलाई केलाउँदा पौडेल ग्रीन जोनमा देखिएका छन् ।

यहाँ एमालेको १९ हजार ३०, कांग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८, नेकपा एकीकृत समाजवादीको ३८८ मत छ । यस्तै कास्की–३ बाट रामजीप्रसाद बरालले माओवादीबाट उम्मेदवारी दिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका बरालसँग एमालेका दामोदर पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
यस क्षेत्रमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ वडा पर्छन् । ती वडामा वडा अध्यक्ष पदका उम्मेदवारले गत स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा यहाँ गठबन्धनका उम्मेदवार बराल बलियो देखिएका छन् ।

यहाँ एमालेको २९ हजार ८०५, कांग्रेसको २८ हजार ८४६, माओवादीको २ हजार ४००, राप्रपाको एक हजार ६५ र नेकपा एकीकृत समाजवादीको ५०१ मत छ ।

लुम्बिनीका २६ क्षेत्रमा ६ सिटमा मात्र माओवादीको उम्मेदवारी

यस प्रदेशबाट प्रतिनिधिसभामा २६ क्षेत्र कायम गरिए पनि गठबन्धनबाट माओवादीको भागमा ६ निर्वाचन क्षेत्रमात्र परेको छ । जसमा कपिलबस्तु–१ बाट चक्रपाणी खनाल, रुकुम पूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, दाङ–२ बाट रेखा शर्मा, बाँके–१ बाट महेश्वरजंग गहतराज र बर्दिया–२ बाट सुरेश पन्थ उम्मेदवार छन् ।

कपिलबस्तु–१ बाट माओवादीका चक्रपाणी खनाल उम्मेदवार छन् । यहाँ एमालेबाट बलराम अधिकारी उम्मेदवार छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सत्तारुढ गठबन्धनको पल्ला भारी छ ।

यस क्षेत्र अन्तर्गत वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका छन् । यस्तै कपिलबस्तु नगरपालिकाका वडा नम्बर ७, ८, ९ र १० पनि यसै निर्वाचन क्षेत्रमा पर्दछन् । ती वडा अध्यक्षको मतका आधारमा यहाँ कांग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३, जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ ।

यस्तै रुकुम पूर्वबाट पूर्णबहादुर घर्तीले माओवादीबाट उम्मेदवारी दिएका छन् । माओवादीको आधार इलाका, त्यसमा पनि गठबन्धन भएकाले घर्तीलाई चुनाव जित्न सहज छ । घर्तीको प्रतिद्वन्द्वीको रुपमा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । यस क्षेत्रका तीन पालिका रहेकोमा सबै पालिकामा माओवादीले जितेको छ ।

यहाँ माओवादी केन्द्रको ११ हजार ६२१, कांग्रेसको ६ हजार ५३३ र एमालेको ४ हजार ५२१ मत छ । यस्तै, रोल्पाबाट माओवादीका वर्षमान पुनले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । रोल्पा आफैमा माओवादीको आधार इलाका हो । पुनको प्रतिस्पर्धीका रुपमा एमालेबाट पूर्ण बुढा मगरले उम्मेदवारी दिएका छन् । पुन र बुढामगर दुवै पूर्व सहकर्मीसमेत हुन् ।

रोल्पाका एक नगरपालिका सहित १० स्थानीय तह छन् । वडा अध्यक्षको मतका आधारमा पुनको अवस्था निकै बलियो देखिन्छ । यहाँ माओवादीको ४० हजार ७९१, कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको एक हजार २१८ र नेकपा एकीकृत समाजवादीको ९५० मत छ ।

दाङ–२ बाट माओवादीकी रेखा शर्माले उम्मेदवारी दिएकी छन् । यहाँ एमालेबाट शंकर पोखरेलले उम्मेदवारी दिएका छन् । एमाले महासचिव र पूर्व मुख्यमन्त्री पोखरेलको गृह जिल्लासमेत भएकाले यहाँ एमालेको राम्रो प्रभाव छ । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत अनुसार झिनो मतान्तरले गठबन्धन अघि देखिन्छ ।

यस क्षेत्रमा बंगलाचुली गाउँपालिका सहित तुलसीपुरका १६, १७, १८, १९ वडा मात्रै पर्छन् । घोराही उपमहानगरका १९ वडामध्ये १, २, ३, ५ यसै क्षेत्रमा पर्छन् । वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत अनुसार यहाँ एमालेको ३३ हजार ५९३, कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, राप्रपाको ३ हजार २६४ र नेकपा एकीकृत समाजवादीको २ हजार ९४२ मत छ ।

बाँके–१ बाट गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादी नेता महेश्वरजंग गहतराज ‘अथक’ उम्मेदवार छन् । गहतराज संघीय सरकारको खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् । उनको निकटम प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद ढकाल छन् ।

यस क्षेत्रमा जनमतमा माओवादी तेस्रो भए पनि गठबन्धनले साथ दिएकाले गहतराज बलियो उम्मेदवार मानिएका छन् । यस क्षेत्रमा कोहलपुर नगरपालिकासहित नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिका पर्छन् । ती पालिका अन्तर्गतका वडा अध्यक्षको मत गणना गर्दा गतहराज सुरक्षित देखिएका छन् । यहाँ कांग्रेसको २८ हजार ६१९, एमालेको २५ हजार ३१०, माओवादीको १७ हजार ११०, राप्रपाको ४ हजार ७८९, जसपाको ३ हजार ९५१, नेकपा एकीकृत समाजवादीको ६२३, लोसपाको ३६१ मत छ ।

बर्दिया–२ बाट माओवादीका सुरेश पन्थले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीका रुपमा एमालेका पंकजसिंह राठौर मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा जनमतमा माओवादी दोस्रो र एमाले तेस्रो छ ।
यस क्षेत्रमा ५ स्थानीय तह पर्छन् । जसमा मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र बर्दिया नगरपालिकाका १, २, ३ वडा पर्छन् । ती स्थानीय तहको निर्वाचित वडा अध्यक्षको मत गणना गर्दा माओवादी उम्मेदवार पन्थ अगाडि देखिएका छन् ।

यहाँ कांग्रेसको ३८ हजार ३५२, माओवादी केन्द्रको ३० हजार ७९८, एमालेको २३ हजार ३२०, राप्रपाको एक हजार ५०२, नेकपा एकीकृत समाजवादीको ७२८ र जसपाको २३४ मत छ ।

कर्णालीमा माओवादी केन्द्रका ५ उम्मेदवार, जुम्लामा माओवादीकै बागी

यो प्रदेश अन्तर्गत प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये माओवादीले गठबन्धनभित्रको भागबण्डाका अनुसार ५ सिटमा उम्मेदवारी दिएको छ । रुकुम पश्चिमबाट प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका जनार्दन शर्मा उम्मेदवार छन् ।
शर्माको प्रतिस्पर्धीका रुपमा एमालेका नन्दराम देवकोटा उम्मेदवार छन् । शर्माले २०६४ सालदेखि लगातार तीन पटक यहाँबाट चुनाव जितिसकेका छन् ।

रुकुम पश्चिमका तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवारले ल्याएको मत अनुसार माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, एकीकृत समाजवादीको १३० मत छ ।

यस्तै जाजरकोटबाट माओवादीका शक्तिबहादुर बस्नेत उम्मेदवार छन् । यहाँ कांग्रेसका राजीवविक्रम शाहीले दाबी गरे पनि उनलाई मनाएर बस्नेत गठबन्धनका साझा उम्मेदवार भएका हुन् । एमालेबाट निरजप्रसाद आचार्य उम्मेदवार छन् ।

जाजरकोटमा २ नगरपालिका सहित ७ स्थानीय तह छन् । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा बस्नेत ‘ग्रीन जोन’मा देखिएका छन् । यहाँ एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२, नेकपा एकीकृत समाजवादीको २ हजार ३३४ मत छ ।

यस्तै, कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । यहाँ एमालेबाट नगिन्द्र शाहीले उम्मेदवारी दिएका छन् । कालिकोटमा ३ नगरपालिका सहित ९ स्थानीय तह छन् । स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा यहाँ सत्तारुढ गठबन्धन नै हावी हुने देखिन्छ ।

यहाँ माओवादीको १८ हजार ३४७, कांग्रेसको १२ हजार ८२०, एमालेको १२ हजार ६१३, नेकपा एकीकृत समाजवादीको ३ हजार ५०३ र राप्रपाको ५८० मत छ । हुम्लाबाट प्रतिनिधिसभामा गठबन्धन तर्फबाट माओवादीका छिरिङडम्डुल लामा उम्मेदवार छन् । उनलाई टक्कर दिन एमालेबाट दल रावलले उम्मेदवारी दिएका छन् । लामा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार भएका हुन् भने रावल यसअघि प्रदेशसभा सांसद र मन्त्रीसमेत हुन् । हुम्लाका सात स्थानीय तहका वडा अध्यक्षको मतलाई हेर्दा यहाँ सत्तारुढ गठबन्धन अघि देखिन्छन् ।

यहाँ माओवादीको ६ हजार ४९३, एमालेको ६ हजार १४७, कांग्रेसको ४ हजार ७६४, नेकपा एकीकृत समाजवादीको ८८८ मत छ । यस्तै जुम्लाबाट माओवादीले गोमा गौतम कुँवरलाई उम्मेदवार बनाएको छ । माओवादी नेता नरेश भण्डारी र गजेन्द्र महतलाई पछि पार्दै कुँवरले गठबन्धनबाट टिकट पाएकी हुन् । एमालेबाट रतननाथ योगी उम्मेदवार छन् । राप्रपाबाट ज्ञानबहादुर शाही समेत उम्मेदवार छन् ।

तर, जुम्लाका १ नगरपालिका सहित ७ पालिका अध्यक्षको मतका आधारमा यहाँ सत्तारुढ गठबन्धन बलियो देखिन्छ । यद्यपि यहाँ माओवादी उम्मेदवार कुँवरविरुद्ध माओवादीकै कलबहादुर रोकायले बागी उम्मेदवारी दिएका छन् ।
वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार यहाँ कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६२, नेकपा एकीकृत समाजवादीको ६ हजार १९५ र राप्रपाको ५१४ मत छ ।

सुदूरपश्चिमका चारै जना ग्रीन जोनमा, २ जनालाई बागीको ‘टेन्सन’

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र छन् । तीमध्ये माओवादी केन्द्रले सत्तारुढ गठबन्धनबाट ४ क्षेत्रमा उम्मेदवारी दिएको छ । कञ्चनपुर–१ बाट वीना मगर माओवादी केन्द्रबाट उम्मेदवार छिन् । उनी गठबन्धनबाट साझा उम्मेदवार भएकाले कांग्रेस, एकीकृत समाजवादी लगायत दलले साथ दिएका छन् । एमालेबाट तारा लामाले उम्मेदवारी दिएका छन् । उनलाई राप्रपाले साथ दिएको छ ।
यहाँ सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यस क्षेत्रमा पुनर्वास नगरपालिका, बेलैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका पर्छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतका आधारमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, एकीकृत समाजवादीको ३ हजार ५२१, राप्रपाको २ हजार ६९२ मत छ ।

यस्तै, कैलाली–२ बाट भगतबहादुर बडुवाल र कैलाली–३ बाट कृष्णकुमार चौधरीले उम्मेदवारी दिएका छन् । एमालेबाट कैलाली २ बाट झपटबहादुर रावल र कैलाली ३ बाट गौरीशंकर चौधरीले उम्मेदवारी दिएका छन् ।
कैलाली २ क्षेत्र अन्तर्गत जानकी नगरपालिकाका २, ५, ८, ९ वडा, मोहन्याल गाउँपालिका अन्तर्गत १ देखि ७ वडा पर्छन् । यस्तै लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका पनि यसै क्षेत्रमा पर्छन् ।

कैलाली–२ मा गठबन्धनको उम्मेदवार बडुवालको विरुद्ध कांग्रेसका नविन बोहराले बागी उम्मेदवारी दिएकाले चुनौती थपिएको छ । यस क्षेत्र अन्तर्गत वडा अध्यक्षको मत परिणामअनुसार एमालेको १७ हजार ८३४, कांग्रेसको १३ हजार ८२०, माओवादीको ८ हजार ७२४, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४३, राप्रपाको २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीको २ हजार ३०६ मत देखिन्छ ।

यस्तै कैलाली–३ मा भजनी नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ७, ८ वडा, कैलारी गाउँपालिका अन्तर्गत १ देखि ८ वडा, घोडाघोडी नगरपालिका पर्दछ । कैलाली ३ का माओवादीका कृष्णकुमार चौधरी र एमालेका गौरीशंकर चौधरी दुवै पूर्व सहकर्मी भएकाले उनीहरुको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

यस क्षेत्र अन्तर्गत वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको १९ हजार ९९२, माओवादीको ११ हजार ७१६, एमालेको ११ हजार २५७, राप्रपाको ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४७, जसपाको २ हजार ८५९ र नेकपा एकीकृत समाजवादीको एक हजार ९७८ मत छ ।

यस्तै बैतडीबाट प्रतिनिधिसभा अन्तर्गत गठबन्धनबाट माओवादीका नरेन्द्रबहादुर कुँवर र एमालेबाट दामोदर भण्डारीले उम्मेदवारी दिएका छन् । माओवादीका कुँवर विरुद्ध कांग्रेसका केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् ।

बैतडीका १० स्थानीय तहका वडा अध्यक्षको मत केलाउँदा एमालेका भण्डारी भन्दा माओवादीका कुँवरको पल्ला भारी देखिएको छ । यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४०, राप्रपाको २ हजार ४ मत छ ।रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology