काठमाडौँ, १७ भदौ । कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला र एमाले अध्यक्ष केपी ओली बिच भेटवार्ता भएको छ ।
बिहीबार बालकोटस्थित निवासमा पुगेर कोइराला र ओली बिच दुई घन्टा छलफल भएको थियो । दुई नेताबीचको छलफलका विषयवस्तु सार्वजनिक गरिएका छैनन् । ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताबीच भएको छलफलका विषयवस्तुबारे आफू जानकार नभएको प्रतिक्रिया दिनुभयो । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भन्नुभयो ओलीसँगको भेटवार्ता नै अस्वीकार गर्नु भयो ।
चुनाव लागेकाले हामी अहिले पार्टीको आन्तरिक व्यवस्थापनमै व्यस्त छौँ, यस्तो वेला उहाँसँग भेटवार्ता हुने कुरै रहेन,’ थपलियाले बताउनु भयो । सत्तारूढ गठबन्धनमा सिट बाँडफाँडमा रस्साकस्सी चलिरहेका वेला शेखरको यो भेटलाई अर्थपूर्ण मानिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा लचकता अपनाएर भए पनि सत्तागठबन्धनका दलसँग मिलेर आसन्न निर्वाचनमा जान चाहिरहेका छन् ।
तर, कोइराला समूहले भने कांग्रेसले कम्तीमा सय सिट लिनुपर्ने ‘बटमलाइन’ बनाएर देउवालाई दबाब दिँदै आएको छ । गठबन्धनबीच सिट संख्या बाँडफाँडपछि कांग्रेस सभापति देउवाले आफ्नो समूहका प्रभावशाली नेताहरूको प्रभाव रहेका निर्वाचन क्षेत्र माओवादी वा गबठन्धनका अन्य दललाई दिन सक्ने कोइरालाले आशंका गर्दै आएका छन् ।
यदि सिट संख्या सयभन्दा कम लिएर क्षेत्र बाँडफाँडमा त्यस्तो तरिका अपनाए प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताको दबाब थेग्न नसक्ने भन्दै कोइराला समूहले पार्टीभित्र दबाब सिर्जना गर्दै आएको छ । ओलीसँगको भेटमा कोइरालाले गठबन्धन संस्कृति राम्रोसँग विकास नभइसकेकाले चुनावअघि दलहरूबीच एकल प्रतिस्पर्धा भए राम्रो हुने धारणा राखेको स्रोतले जनाएको छ ।
ओलीले पनि लामो समय लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएको पार्टीले त्यसरी गठबन्धन बनाएर जाँदा मतदातामा कांग्रेस कमजोर बन्दै गएको मनोवैज्ञानिक प्रभाव पार्ने र त्यसको प्रत्यक्ष लाभ एमालेले नै लिन सक्ने बताएका थिए ।