काठमाण्डौं २३, साउन । भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ । भारतीय सेनाले विज्ञप्ति निकालेर अस्थायी ढाँचा र अन्य सहयोगी भौतिक संरचना भत्काएको जनाएको छ ।
दुवै पक्षबीच सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखाबाट पछि हट्ने सहमती अनुसार अस्थायी ढाँचा र अन्य सहयोगी भौतिक संरचना भत्काइएको विज्ञप्तीमा उल्लेख छ । सम्झौता अनुसार दुवै पक्षले चरणबद्ध र समन्वित ढङ्गले अग्रिम तैनाथी बन्द गरेका छन् ।
अहिले दुवै पक्षका सेना आ–आफ्नो स्थायी ठेगानामा फर्किएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गत जुलाई ३१ मा दुई देशबीच पूर्वी लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा भएको कमान्डर स्तरको वार्तामा यस क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।