गोरखा ७, फागुन । गोरखाको ऐतिहासिक लिगलिगकोटमा भएको लिगलिगे साइकल दौडको उपाधी लक्ष्मण मल्लले जितेका छन् । ससस्त्र प्रहरी बलका मल्लले कुल ५२. ९ किलोमिटर दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल भएका हुन् । त्यस्तै निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पुरा गर्दैै नेपाली सेनाका हिमाल टमटा प्रतियोगितामा दोस्रो भएका छन् भने ओकेशराज बज्राचार्य निर्धारित दुरी २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै तेस्रो भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा महिला तर्फको उपाधी ससस्त्र प्रहरी बलकी सोनी गुरुङले जितेकी छिन् । उनले २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । प्रतियोगितामा लक्ष्मी मगर दोस्रो र उषा खनाल तेस्रो भएका छन् । उनीहरुले निर्धारित दुरी क्रमश ३ घण्टा २ मिनेट ९ सेकेण्ड र ३ घण्टा ९ मिनेट ३० सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।