गोरखा २६, बैशाख । बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । १६ वर्षका एक पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
यो सँगै नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या एक सय दुई पुगेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विराटनगरमा उपचार गराइरहेका थप आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको बताउनुभयो ।
कोशी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्टमा कोरोना नभएको पाइएपछि आज दिउँसो उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरूमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् ।