काठमाण्डौ १७, बैशाख ।नेपालमा बुधबार थप तीन जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल संक्रमितको संख्या ५७ पुगेको छ ।
आज पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार उनीहरु तिनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए । संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् । अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।
जसमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जनाको उपचार भइराखेको छ । प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा ३१, वीरगन्जमा ८, धनगढी र भरतपुरमा एकएक गरेर ४१ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ६७ नमुना परीक्षण भइरहेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ११ हजार पाँच सय २४ रआरडीटी ४५ हजार ६ सय ४५ नमुना परीक्षण भएका छन् । देशभर आइसोलेसनमा ८७ जना छन् । हालसम्म क्वारेन्टाइनमा २२ हजार ९ सय १ जना रहेका छन् ।