काठमाण्डौ १०, बैशाख । विश्वभर फैलिएको कोरोना भाईरस फैलन थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले संघिय सरकार र प्रदेश सरकार संग भौतिक सामग्री र जनशक्तिको माग गरेको छ प्रदेशको पहिलो र देशैकै ठुलो संख्यामा उदयपुरको भुल्केमा संक्रमण फैलिएपछि उदयपुर अहिले त्रासमय बन्न पुगेको छ । त्यस क्षेत्रमा उच्च सतर्कता, नियन्त्रण र सुरक्षाको लागि बिभिन्न क्षेत्रहरु लागि परिरहेको छ । त्रियुगा नगरले यसको उच्च जोखिम र नियन्त्रणका लागि अहिले बिभिन्न पहलहरु चालिरहेको छ ।
त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बुधबार नगरवासीहरुलाई बिषेश सम्बोधन गर्दै कोरोना सम्बन्धि बिषेश रोकथाम र सतर्कताको लागि नगरले बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक भौतिक सामाग्री र जनशक्तिहरुको माग राखेको बताउनुभयो । त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिद वस्तिमा कोरोना संक्रमणको ठुलो सँख्या पत्ता लाग्ने बित्तिकै नगर त्यस तर्फ गम्भीर ध्यानाकर्षण भएको र त्यसको समाधान तर्फ लागि परिरहेको विज्ञाप्तीमा उल्लेख छ ।
नगरले उदयपुरलाई सुरक्षित र रोग बढ्न नदिन आवश्यक कदमका लागि जिल्लामा तत्कालै कोरोना अस्पतालको माग, स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था, औषधी तथा उपकरणहरु अभाव हुन नदिन प्रदेश तथा संघिय सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै गरिब तथा विपन्न परिवारहरु रोग सँगै भोकको चपेटामा परिरहेकोले थप खाद्यन्नको व्यवस्था, प्रदेश सरकारले उदयपुरलाई लगाएको शिलबन्दी पूर्णपालनाको ध्यानाकर्षण, त्रियुगा नगरपालिका भित्र रहेको प्रभावित वडा तथा सबै नगरवासीहरुमा तत्काल स्वास्थ्य परिक्षणको माग लगाएत अत्यावश्यक कुराहरुको माग गरेको छ ।
नगरले भुल्केलाई नेपालकै अति जोखिमको रुपमा ध्यानाकर्षण गरी रोग नियन्त्रण, उपचार र सतर्कतामा बिषेश पहलको लागि समेत सम्बन्धित निकायहरु सँग जोडदार माग गरेको छ ।