गोरखा ९ बैशाख । उदयपुरमा थप ९ जनामा आज एकै दिन कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा आज कोरोना देखिएको हो।
हिजो विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भईरहेको जनाइएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ।
गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामध्ये थप एकजना पनि संक्रमण देखियो । गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो।
संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ। बस्तीमा सुरक्षाकर्मी खटिएका छन्। बताइएको छ। नेपालमा हालसम्म १ सय १२ जना आइसोलेसनमा भर्ना भएको सरकारले जनाएको छ । त्यस्तै स्वमूल्याङ्कन सहित नाम दर्ता गराएका मध्ये २ सय ६७ जना कोरोना सङ्क्रमणको जोखिममा रहेको जनाइएको छ ।