गोरखा २६, चैत । गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शकांस्पद अन्य ४० जना स्थानीयबासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । कुकुरले टोकेर स्थानीयबासी ४५ बर्षिय रामबहादुर गुरुङको मृत्यु भएपछि मृत्यु संस्कारमा सहभागी हुने व्यक्तिहरु र मृतकका परिवारलाई रेबिज बिरुद्वको भ्याक्सिन लगाउन थालिएको हो ।
‘रेबिज लागेका व्यक्तिको मृत्यु संस्कारमा सहभागी भएकाहरु तथा मृतकको घरपरिवारका व्यक्तिहरुमा रेबिज सर्न सक्ने सम्भावना बढी हुन्छ, सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले भन्नुभयो, ‘त्यसैले उहाँहरु सवैको पहिचान गरी रेबिज बिरुद्धको भ्याक्सिन दिन थालिएको छ ।’ गएको माघ २ गते मृतक गुरुङलाई आफ्नै घरमा पालेको कुकुरले टोकेपछि रेबिज लागेर मृत्यु भएको थियो ।
कुकुरको टोकाईबाट रेबिज लागेका गुरुङको चैत्र १३ गते मृत्यु भएको हो ।
गुरुङ बिरामी परेपछि कुकुरकै जस्तो गरि आवाज निकाल्ने गरेको र आफ्नै श्रीमतीलाई समेत टोकेको स्थानीयबासीको भनाई छ । माघ २ गते कुकुरले टोकेका गुरुङ करिब एकहप्ता पछिदेखि बिरामी परेका थिए । उनको स्थानीय स्वास्थ्यचौकी र आँपपिलल अस्पतालमा उपचार गरिएको थियो । तर गुरुङले आफुलाई कुकुरले टोकेको भन्ने कुरा लुकाएका कारण समयमा उपचार हुन नसक्दा मृत्यु भएको परिवारको भनाई छ ।
त्यस क्षेत्रमा स्थानीयबासी कलाबती गुरुङ र हर्कबहादुर गुरुङ समेतलाई कुकुरले टोकेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हर्कबहादुर र कलाबतीलाई टोक्ने कुुकुरलाई स्थानीयबासीले नियन्त्रणमा लिएर मारेका थिए । गाउँमा रेबिजका कारण गुरुङको मृत्यु भएको पुष्टी भएपछि पहिलो चरणमा १६ जनालाई गोरखा अस्पतालमा र दोस्रो चरणमा गाउँमा नै थप २४ जना गरी कुल ४० जनालाई हिजो रेबिज बिरुद्वको भ्याक्सिन लगाइएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
‘कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमका कारण एकै पटक गाउँलेहरु स्वास्थ्य संस्थामा गएर भ्याक्सिन लगाउन सक्ने अबस्था पनि छैन । लकडाउन घोषणा गरिएकाले घरबाहिर नागरिकहरुलाई निस्कनु भन्दा पनि गाउँपालिकाबाट नै स्वास्थ्यकर्मी परिचालन गरी घरघरमा पुगेर भ्याक्सिन लगाउन थालिएको छ ।’ उहाँले भन्नुभयो ।
रेबिज लागेको जनावरले टोकेका मानिसमा १ देखि ३ महिना भित्रमा रेबिजको लक्षण देखिने उहाँको भनाई छ । लक्षण देखिएका व्यक्तिको एकहप्ता भित्रमै मृत्यु हुनसक्ने भएकाले स्थानियबासीहरु त्रसित भएका छन् । गाउँपालिकाले भने हिजोदेखि नै त्यस क्षेत्रमा पुगेर गाउँका सबै घरमा रेबिजको लक्षण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपायका बारेमा घरघरमा पुगेर जानकारी गराउन समेत सुरु गरेको छ ।