काठमाण्डौ– सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म देशभर लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन सक्ने खतरा बढेपछि देशभरी नै लकडाउनको घोषणा गरेको हो । सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गराउने गृह मन्त्रायलले मातहतका निकायलाई निर्देशन दिएको छ ।
सरकारले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ । सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी यो आदेश जारी गरेको हो ।सरकारी निर्णयअनुसार अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, विद्युत, दूरसञ्चार, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यकबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ । निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिने निर्णय सरकारले आदेश जारी गरेको छ । यो आदेश औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगको हकमा भने लागू हुने छैन ।
यस आदेशको कार्यान्वयनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशसन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिने सरकारले निर्णय गरेको छ । नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ । त्यसमा पनि एकजना निको भइसकेका छन् । संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो ।
लकडाउन कार्यान्वयनका लागि गृहमन्त्रालयले दियो कडा निर्देशन
गृहमन्त्रालयले सरकारको निर्णय कार्यान्व्यनका लागि प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै उच्च प्राथमिकताका साथ आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ । गृह स्रोतका अनुसार परिपत्रमा चार बुँदे निर्देशन दिइएको छ । जसमा औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्किन नदिन भनिएको छ ।अनुमित प्राप्त सवारीसाधान, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै सार्वजनिक वा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउन पनि भनिएको छ ।
के हो लकडाउन ?
चीनको वुहानमा कोरोनाको महामारी फैलिएको बेला त्यहाँका जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने विद्यालय, बजार, बैंक, रेष्टुरेन्ट सबै बन्द भएका थिए। यी सब वुहानमा देखिएको कोरोनाको महामारी अन्य प्रान्तमा नफैलियोस् भन्नका लागि चीन सरकारले लिएको नीति थियो। सामान्य भाषामा भन्दा सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो। जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्नका लागि गरिन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीका अनुसार लकडाउन भनेको कुनै निश्चित क्षेत्रलाई सरकारले बन्द गर्नु हो। उक्त क्षेत्रलाई प्रहरीले चारैतिरबाट घेरा हाल्छ। मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हो। लकडाउनलाई डा मरासिनीले ुहेल्थ कस्टडीुको नाम दिएका छन्। यो एक प्रकारको कर्फ्यू जस्तै हो। कर्फ्यु निश्चित समयका लागि हुन्छ भने लकडाउनको समय रोग अनुसार हुने उहाँले बताउनु भयो। लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक लगायत मानिसको भीडभाड हुने सबै ठाउँ बन्द हुन्छ। मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्।