काठमाण्डौ १०, चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमण रोकथामका लागि आजदेखि भारत र चीनका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत १० गते बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमनमा ७ दिन रोक लगाउने निर्णय गरेको हो ।
बैठकपछि अर्थमन्त्री समेत रहनु भएका सरकारका प्रबक्ता युवराज खतिवडाले सरकारले सोमबारदेखि सवै नाकामा यात्रु आवातजावतमा रोक लगाउने निर्णय भएको बताउनुभयो ।‘‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षिय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’ उहाँले एक देशको सङ्क्रमण अर्को देशमा नसरोस भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको छ ।’ उहाँले भन्नुभयो ।
कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यात्रु आवातजावातमा बन्द गरिएपनि खाद्यन्य लगायत सामाग्री ढुवानी भने नियमित हुने सरकारले जनाएको छ । कोषमा जम्मा भएको रकम कोरोनासँगसम्बन्धित क्षेत्रमा पूर्वाधार तयार गर्ने र सम्भावित जोखिमलाई निराकरण गर्ने काममा खर्च गर्नेगरी कार्यविधि बनाइने मन्त्री खतिवडाले जानकारी दिनुभयो । साथै सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान पनि गरेको छ ।