बिहीवार बेलुका इराकको बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले हवाई आक्रमण गरेर इरानको उच्चस्तरीय कुद्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानी लगायत इरानी अधिकारीको हत्या गरेपछि पहिलेदेखि नै अस्थिर पश्चिम एसिया युद्धको मुखमा पुगेको छ । सुलेमानीको हत्या गर्नका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिएको पेन्टागनले जनाएको छ । इरानले यस हत्याको बदला लिने भनेको छ ।
इराक, सिरिया, यमन लगायतका स्थानमा इरानको प्रभाव विस्तार गर्न प्रमुख भूमिका खेलेका सुलेमानीलाई इरानीहरूले निकै सम्मान गर्थे । सुलेमानी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीपछिका प्रभावशाली व्यक्ति थिए र पर्दापछाडि बसेर इरानको प्रभाव विस्तारमा उनकै उच्च भूमिका थियो । अनि आतंकवादी संगठन इस्लामिक स्टेटलाई हराउनका लागि पनि सुलेमानीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २००१ को सेप्टेम्बर ११ मा अलकायदाले गरेको ट्विन टावर आक्रमणपछि तालिबानहरू विरुद्धको युद्धमा अमेरिकालाई सूचना सहयोग गरेर अमेरिकीहरूसँग निकट भएका सुलेमानी पछि बिच्केका थिए किनकि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले इरान, इराक र उत्तर कोरियालाई एक्सिस अफ एभिल भनेर इरानलाई चिढ्याएका थिए । अनि त्यसलगत्तै बुशले इराकविरुद्ध युद्ध चर्काएपछि इराक र अफगानिस्तानको बीचमा रहेको इरान अमेरिकी उद्देश्यबाट झस्किन पुग्यो । इरानलाई अमेरिकी आक्रमणबाट बचाएर सशक्त क्षेत्रीय शक्ति बनाउने अभिभारा सुलेमानीले नै बोेकेका थिए ।
त्यसो त सुलेमानीले पश्चिम एसियामा धेरै अमेरिकीहरूको हत्या गराएको भन्दै उनको हत्याको माग अमेरिकी अधिकारीहरूले यसअघि नै गरेका हुन् । सन् २०१३ को सेप्टेम्बर २३ मा द न्युयोर्कर नामक पत्रिकामा छापिएको सुलेमानीको प्रोफाइलमा डेक्सटर फिल्किन्सले उल्लेख गरेअनुसार, उनलाई सिध्याउनका लागि मागहरू उठेका थिए । तर त्यतिखेर तत्कालीन ओबामा प्रशासनले उनलाई हत्या नगरेर उल्टो इरानसँगको सम्बन्धमा न्यानोपन ल्याउने हिसाबमा सन् २०१५ मा युरोपेली मुलुकहरू समेतको सहभागितामा आणविक सम्झौता गरायो । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नका लागि ओबामा प्रशासनले उसविरुद्धको आर्थिक प्रतिबन्धलाई खुकुलो बनाएको थियो ।
ब्मखभचतष्कझभलत
तर ओबामापछि राष्ट्रपति बनेका ट्रम्पले निर्वाचन अभियानदेखि नै ट्रम्पले इरानप्रति आक्रामक व्यवहार देखाउँदै आए । उनले इरानसँगको आणविक सम्झौताका लागि ओबामालाई सत्तोसराप नै गरेका थिए । त्यसो त इतिहास र भूगोलको कुनै ज्ञान नभएका ट्रम्पलाई इरानप्रति आक्रामक बनाउन अमेरिकाको एक समूह सक्रिय भएको बुझिन्छ ।
अमेरिकाको हतियार पूँजीवादका विषयमा रहस्योद्घाटन गरिरहने समाचार वेबसाइट दी इन्टरसेप्टमा छापिएको खबरअनुसार, ट्रम्पले चुनाव जित्नुभन्दा तीन महिनाअघि अगस्टमा ब्ल्याकवाटर नामक भाडाका सैनिक उपलब्ध गराउने कम्पनीका संस्थापक एरिक प्रिन्सले ट्रम्पलाई भेटेका थिए । प्रिन्सले दशकौंदेखि इरानविरुद्ध युद्ध शुरू गर्नका लागि आह्वान गरिरहेका थिए र सन् २०१० तिरै उनले भाडाका सैनिक लगाएर उक्त युद्ध गराउन प्रस्ताव राखेका थिए । इराक युद्धमा प्रिन्सको ब्ल्याकवाटरले अकुत नाफा गरेको थियो ।
ट्रम्पसँग प्रिन्सको बैठकमा जर्ज नादेर नामक अमेरिकी नागरिक पनि थिए । उनी पश्चिम एसियामा अमेरिकाका दूत हुन् यद्यपि उनी परिदृश्यमा देखिँदैनन् । उनले संयुक्त अरब अमिरातका अमिरहरूको सल्लाहकारका रूपमा काम गरिसकेका छन् भने साउदी अरबका राजकुमार मोहम्म्द बिन सलमानसँग पनि उनको निकट सम्बन्ध छ । त्यही बैठकमा इजरायली जासूसी संस्थाका जोएल जामेल पनि सहभागी थिए ।
उनीहरू सबैजनाको एक मात्र उद्देश्य इरानमा सत्ता परिवर्तन गर्नुमा केन्द्रित थियो । इरानमा आफूअनुकूलको शासक ल्याएर आफ्नो प्रभावक्षेत्र बनाउने यी सबैको ध्येय हो । उनीहरूकै सल्लाहमा ट्रम्पले इरानविरुद्ध विषवमन गर्दै आएका हुन् र हुँदाहुँदा सन् २०१८ मा त आणविक सम्झौताबाट अमेरिकालाई अलग्याए ।
अमेरिकालाई अन्य देशका युद्धहरूमा संलग्न नगराउने भन्दै चुनावी वाचा गरेका ट्रम्पले सल्लाहकारहरू चाहिँ सबै युद्धपिपासु नै राखे । माइकल फ्लिन जस्ता इरानका घोर विरोधीलाई ट्रम्पले पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार बनाए अनि उनलाई निकालेपछि पनि जोन बोल्टन जस्ता युद्धपिपासुलाई सल्लाहकार बनाए । गत सेप्टेम्बर महिनामा बोल्टनलाई ट्रम्पले बर्खास्त गरे पनि अहिले अर्का युद्धपिपासु परराष्ट्रमन्त्री माइक पम्पिओले इरानका विषयमा ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।
अमेरिकाले यसअघि पनि धेरै देशमा शीर्ष अधिकारीहरूको हत्या गरेर अन्य मुलुकको सार्वभौमसत्ताको खिल्ली उडाउने गरेको थियो । यसपालि सुलेमानीको हत्यालाई जायज ठहर्याउनका लागि ट्रम्पले अमरिकी सुरक्षाबल र कूटनीतिकर्मीहरूका विरुद्ध सुलेमानीले व्यक्तिगत रूपमा आक्रमणको योजना बुनेकोले त्यसो हुन नदिन उनको हत्या गरेको ९प्रिएमप्टिभ डिफेन्सिभ स्ट्राइक० बताएका छन् । तर यस्तो स्ट्राइक वैध ठहरिँदैन ।
सुलेमानीविरुद्धका आरोपहरू प्रमाणित भएका छैनन् । दी इन्टरसेप्टले द न्युयोर्क टाइम्ससँग मिलेर सन् २०१९ को नोभेम्बर १८ मा प्रकाशित गरेको खुलासामा इरानले पश्चिम एसियामा प्रभाव बढाउन चलाएको जासूसीको जालोको विस्तृत चर्चा गरिएको छ र त्यसमा सुलेमानीको भूमिकाको पनि वर्णन छ । तर त्यस वर्णनमा सुलेमानीले अमेरिकीहरूलाई व्यापक रूपमा सिध्याउने षड्यन्त्र गरेको पाइँदैन, बरू इरानलाई बाह्य शक्तिबाट बचाउन चाहिँ जुन हदसम्म पनि जान सक्ने भनी देखाइएको छ । त्यसैले अमेरिकाको प्रतिरक्षाका लागि सुलेमानीको हत्यालाई जायज ठहर्याउने आधार भेटिँदैनन् ।
सीएनएनको अन्लाइन संस्करणमा आइतवार प्रकाशित जाकारी कोहेनले लेखेको समाचारमा पनि अमेरिकीहरूको जीवनमा आइलागेको खतरा टार्न सुलेमानीको हत्या गरिएको भन्ने शीर्ष अमेरिकी अधिकारीहरूको दाबीमा कुनै प्रमाण नपुगेको उल्लेख छ । यसबाट यो आक्रमण जायज थियो कि थिएन भन्ने विषयमा प्रश्न उठेको छ किनकि अमेरिकाले इरानसँग युद्धको औपचारिक घोषणा गरेको छैन र युद्ध नगरेको देशका सम्मानित व्यक्तिको हत्या अन्तर्राष्ट्रिय कानूनको बर्खिलाप हुन आउँछ ।
सुलेमानीको हत्या गरेर ट्रम्पले गैरजिम्मेवार तरिकाले युद्धको शुरूआत गरेका छन् । यसबाट पश्चिम एसिया मात्र नभई विश्व समुदाय नै चिन्तित बनेको छ । तेस्रो विश्वयुद्ध शुरू हुन सक्ने आशंका धेरैले गरेका छन् । हुन पनि ट्रम्पले इरानसँग युद्धको थालनी गरे भने अन्य मुलुक पनि यसमा सहभागी भएर यसले विश्वयुद्धको रूप धारण गर्ने सम्भावना रहन्छ ।
ट्रम्पले इरानसँग युद्ध चर्काउने नै रणनीति लिएर लगातार आक्रामक ट्वीट गरिरहेका छन् । इरानले सुलेमानीको बदला लिनका लागि आक्रमण गरेमा उसका ५२ महत्त्वपूर्ण स्थानमा आगो र गोलाबारुद बर्साउने चेतावनी ट्रम्पले दिएका छन् । आजै मात्र उनले ट्वीट गर्दै ‘अमेरिकाले सैन्य हतियारमा दुई खर्ब डलर खर्च गरेको अनि इरानले अमेरिकी अड्डा वा कुनै अमेरिकीमाथि आक्रमण गरेमा उक्त नयाँ सुन्दर हतियार कुनै हिचकिचाहटविना इरानविरुद्ध प्रयोग गर्ने’ चेतावनी दिएका छन् । यसबाट अब उनले इरानविरुद्ध युद्धमै होमिन चाहेको देखिएको छ ।
The United States just spent Two Trillion Dollars on Military Equipment. We are the biggest and by far the BEST in the World! If Iran attacks an American Base, or any American, we will be sending some of that brand new beautiful equipment their way…and without hesitation!
— Donald J. Trump (@realDonaldTrump) January 5, 2020
इरानविरोधी युद्धपिपासुबाट घेरिएका ट्रम्पलाई युद्धमा जान यसअघि रहर लागेको थिएन । पोहोर साल इरानको हवाई क्षेत्रमा पुगेको अमेरिकी ड्रोनलाई इरानले खसाएपछि अमेरिकाले इरानमाथि प्रत्याक्रमण गर्न खोजेको थियो तर अन्तिम अवस्थामा ट्रम्पले त्यसलाई रोकेका थिए । त्यतिखेर युद्ध शुरू हुने आशा गरेका युद्धपिपासुहरू निराश भएपछि थप षड्यन्त्र बुनिरहेका थिए ।
अनि इरानले चीन र रुससँग मिलेर अमेरिकी प्रभुत्वलाई चुनौती दिनका लागि ओमानको खाडीमा संयुक्त सैन्य अभ्यास गरेको कुरा पनि अमेरिकालाई खिल गढे जस्तो भएको थियो । बहुध्रुवीय विश्वका लागि तीन देशले गरेको साझेदारीलाई भत्काउनका लागि पनि अमेरिका इरानलाई क्षेत्रीय युद्धमा अल्झाउन चाहन्छ जस्तो देखिन्छ ।
अघिल्लो साता अमेरिकाले इराकमा हवाई आक्रमण गरेर इरानसमर्थक मिलिसियाहरू मारेपछि बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरे । विदेशी भूमिमा दूतावास परिसरमा आक्रमणलाई अमेरिकामाथिकै आक्रमणका रूपमा लिइन्छ । त्यसलाई प्रतिकार गर्ने दबाब ट्रम्पमा परेको हो ।
त्यसमाथि यसै वर्ष अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । महाअभियोग लागेर निरीह जस्तो बनाइएका ट्रम्पले आफूमा निर्णायक क्षमता छ र नेतृत्व शक्ति छ भनेर देखाउनका लागि पनि केही गर्नुपर्ने थियो । इरानमाथि आक्रमण गरेर उनले आफ्नो दम देखाउन खोजेको हुनुपर्छ । द न्युयोर्क टाइम्समा डिसेम्बर २९ मा छापिएको ‘बहाइन्ड द युक्रेन एड फ्रीज स् ८४ डेज अफ कन्फ्लिक्ट यान्ड कन्फ्युजन’ शीर्षकको एक रिपोर्टमा एरिक लिप्टन, म्यागी हेबरम्यान र मार्क मजेटीले लेखेअनुसार, ट्रम्पविरुद्धको महाअभियोग अघि बढाउन हतियार उद्योगका प्रतिनिधिहरू लागिपरेका थिए । युक्रेनलाई हतियार बेच्नका लागि दिएको दबाबलाई ट्रम्पले अटेरी गरेपछि उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन डेमोक्रेटहरूलाई फकाइएको उक्त रिपोर्टमा उल्लेख छ ।
हतियार उद्योगले इराक, लिबिया र सिरियापछि अर्को एक युद्ध चाहिरहेको अवस्थामा इरानलाई नयाँ युद्धक्षेत्र बनाउन चाहेको हो । भूराजनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको इरान कब्जा गर्न पाए अमेरिकालाई हिन्द महासागरमा अविच्छिन्न प्रभुत्व जमाउन सजिलो हुने आकलन उनीहरूले गरेका छन् । त्यसैले इरानमा सत्तापरिवर्तन गरेर आफूअनुकूलको शासक ल्याउन प्रयास विफल भएपछि हतियार उद्योगले अमेरिकी संस्थापनलाई युद्ध गराउन दबाब दिँदै आएको छ ।
महाअभियोगको गलपासोबाट मुक्त हुन र दोस्रो कार्यकालका लागि निर्वाचित हुनका लागि ट्रम्पले हतियार उद्योगको कुरा सुन्नैपर्ने भएको थियो । त्यसैले उनले इरानविरुद्ध युद्ध आरम्भको बाटो खोलेका हुन् । तर उनको यो कदमले पहिले नै विस्फोटक स्थितिमा रहेको पश्चिम एसिया धपक्क बल्ने देखिन्छ । यसले क्षेत्रीय युद्धमा मात्र सीमित नभएर विश्वयुद्धको रूप धारण गर्ने हो कि भन्ने आशंका पनि उत्तिकै प्रबल छ ।