काठमाडौं २३, माघ । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा काठमाडौंमा २ जनाको मृत्यु भएको छ । कलंकीको अन्डरपासमा बुधवार राति प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिप्परले पछाडिबाट ठक्कर दिएको हो।
गएराति करिब साढे १२ बज बल्खुबाट सितापाइलातर्फ जाँदै गरेको मोटरसाइकललाई सितापाइलातर्फबाट आउँदै गरेको टिप्परले अण्डरपासमा ठक्कर दिएको महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उहाँको भनाई छ ।
अत्याधिक गतिमा गुडिरहेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने टिप्पर र चालक खोजी भइरहेको प्रहरीले जनाएको छ ।