गोरखा २७, मङ्सिर । गोरखाको बारपाकमा पर्सी सोमबारदेखि नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईन जडान हुने भएको छ । अहिलेसम्म स्थानीय लधुजलबिद्युत आयोजनाबाट बत्ती बाल्दै आएका बारपाकका स्थानीयबासीहरुले सोमबारबाट केन्द्रिय प्रशारण लाईनबाट बिजुली बत्ती बाल्न पाउने भएका हुन् । बिद्युत लाइन जडानका लागि प्राबिधिक सहितको टोली हिजोदेखि नै त्यस क्षेत्रमा खटिएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधब न्यौपानले जानकारी दिनुभयो ।
‘प्राबिधिकहरुको टोलीले त्यहाँ लाईन छुटेको छ छैन, बिद्युत चुहावट भएका छन् छैन त्यसको फिल्डमा पुगेर अध्ययन गर्ने काम भइरहेको छ, उहाँले भन्नुभयो, सवै काम सकेर पर्सी बारपाकमा बत्ती बाल्ने तयारी भइसकेको छ ।’ पहिलो दिन वडा कार्यालयमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बाल्ने योजना भएको उहाँको भनाई छ । ‘वडा कार्यालयमा बिजुली बत्ती बालेसंगै क्रममा स्थानीयबासीहरुको घरमा केन्द्रिय प्रशारण लाईनको बिजुली जडान गर्दै जाने योजनामा छौ ।’ उहाँले भन्नुभयो । उहाँले अजिरकोट गाउँपालिकाको बालुवादेखि राङ्गरुङ्ग मान्दे्र हुदै वारपाकको विभिन्न स्थानसम्म निर्माण सम्पन्न H. T लाईनमा सोमबार देखि नै ११ हजार भोल्टेज प्रशारण÷प्रवाह गरिने हुदा विद्युतिय संरचनाहरुमा नछुन सवैलाई आग्रह समेत गर्नुभएको छ ।
पोल, तार, स्टेक, ट्रान्सफरमर लगायत मा नजिक नजानु हुन, नछुनुहुन, आफ्ना वालवालिक तथा पशुचौपायहरुलाई नछोड्न पनि उहाँले त्यस क्षेत्रका बासिन्दाहरुलाई आग्रह गर्नुभएको छ । प्राधिकरण गोरखा बितरण केन्द्रले जानकारी लागि सवै तिर सूचना प्रवाह गरिसकेको भन्दै सूचनालाई अटेर गरि लापारवाही वस कुनै विद्युतिय दुर्घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेहि नहुने जनाएको छ ।
विद्युत प्रशारणको क्रममा कुनै पनि स्थानमा विद्युत तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखेमा तत्काल प्राधिकरणको कार्यालयमा जानकारी गराउने समेत उहाँले सवैलाई आग्रह गर्नुभएको छ ।