काठमाडौँ, १८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनको आधार भएको बताउनुभएको छ ।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले तीनै तहका सरकार जनताले राखेका ती अपेक्षा पूरा गर्नेतर्फ गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो ।
उहाँले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशासनिक भवन आधुनिक भएजस्तै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । ”
उहाँले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो ।