काठमाण्डौं १६, मङ्सिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्का चर्की परेको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न १ बजे बस्ने तय गरिएको बैठकलाई सुरक्षाका कारण देखाउँदै प्रधानमन्त्रीले बालुवाटारमै बस्ने प्रस्ताव गर्नुभएको थियो ।
सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नुपर्ने बैठक बालुवाटारमा बसेर नहुने भन्दै अबदेखि पार्टी कार्यालय मै बैठक बस्नुपर्ने धारणा राख्नुभयो ।जवाफमा ओलीले सचिवालय बैठक नै जरुरी नभएको प्रतिक्रिया दिएपछि बैठकमा सहभागी अन्य सचिवालय सदस्यहरुले ओलीको बिरोध गरेका थिए ।
बैठकमा ओलीले सचिवालयमा प्रस्तुत कुनै पनि दस्तावेजमा छलफल आवश्यक नै नरहेको र बैठक बस्नु पनि जरुरी नभएको बताएपछि प्रचण्डले अन्य सचिवालय सदस्यहरूलाई ‘कमरेडहरू बैठक नबस्ने र छलफल नै नहुने भन्ने कुरा सही हो त ?’ भनेर सोध्नु भएको थियो ।
विष्णु पौडेलबाहेक सबै सचिवालय सदस्यहरूले बैठक र छलफल दुवै आवश्यक रहेको र यसमा दायाँबायाँ गर्न नहुने धारणा राखेका थिए ।
स्रोतका अनुसार रस्साकस्सी बिच नै चलेको बैठकमा अध्यक्ष प्रचण्डले बैठक नै हुन्न, छलफल नै हुन्न भन्ने तपाईं को हो ?’ भनेर प्रधानमन्त्री समेत रहनु भएका ओलीलाई प्रश्न गर्नुभएको थियो । ‘तपाईले अझै पनि आफूलाई पार्टीमाथि नै ठान्नुहुन्छ ? यसरी चल्दैन । तपाईंमा अलिकति रियालाइजेसन छ कि भनेको झन् दम्भ बढेर गएको देखिएको छ ।’ स्रोतले प्रचण्डको भनाई उदृत गर्दै भन्यो ।
छलफल आवश्यक छैन भनेर ओलीले भनिसकेपछि वरिष्ठ नेता माधवकुमार नेपालले सबै समस्याको कारकतत्व नै ओली रहेको भन्दै कडा प्रतिवाद गर्नुभएको थियो । ‘हठ, अहं, दम्भ र स्वेच्छाचारिताको उदाहरण नै तपाईं बन्नुभयो कमरेड’ नेता नेपालले बैठकमा भन्नुभयो। ‘सचिवालय बैठकमा पेश भएका दस्तावेजमाथि मात्र होइन, सरकार बनेदेखिका तपाईंका क्रियाकलापका बारेमा छलफल हुनुपर्छ ।’ बैठकमा पेश भएका दुवै प्रतिबेदनमा माथि छलफल गर्ने कि नगर्नेमै नेताहरूको रस्साकस्सी देखिए पछि भोली १ बजे बैठक बस्ने गरी स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।