गोरखा १५, मङ्सिर । गोरखाको धार्चे गाउँपालिकाको माछा खोला डिपोबाट ढुवानी अनुदानमा उपलब्ध गराउदै आएको सहुलियतको दरको चामल बिक्री हुन छोडेको छ । खाद्य अभाव भोग्दै आएका जिल्लाको धार्चे र चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रका नागरिकहरुलाई लक्षित गरि ढुवानी अनुदानको चामल उपलब्ध गराउदै आएको धार्चे डिपोबाट पछिल्लो २ बर्षदेखि न्युन मात्र चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाका प्रमुख नबिन बस्नेतले जानकारी दिनुभयो ।
पछिल्लो समय गुम्दासम्म सडक पुगेपछि व्यापारीहरुले नै बिक्रीका लागि स्थानीय बजारमा चामल पु¥याउन थालेपछि ढुवानी अनुदानको चामल बिक्री हुन छोडेको उहाँले बताउनुभयो । एउटै गुणस्तरको बजारको चामल मूल्य भन्दा खाद्य व्यवस्थाले ढुवानी अनुदान उपलब्ध गराउदै आएको चामलको मूल्य मंहगो पर्न गएकाले पनि त्यस क्षेत्रका नागरिकहरुले ढुवानी अनुदानको चामल किन्न छोडेका हुन् । ‘सोना मनसुली चामल अहिले बजारमा प्रति बोरा १ हजार २ सय ६० रुपैयामा पाइन्छ, कार्यालय प्रमुख बस्नतेले भन्नुभयो, त्यही चामल खाद्य व्यवस्थाको माछा डिपोमा प्रतिबोरा १४ सय ४० रुपैया तिर्नुपर्ने भएपछि डिपोबाट बिक्रि ह्वात्तै घटेको छ ।’
‘एक त नागरिकको घरघरमा व्यापारीहरुले चामल पु¥याउछन्, प्रमुख बस्नेतले भन्नुभयो, ‘अर्को तिर ढुवानी अनुदानको चामल भन्दा सहुलियत मूल्यमा चामल महंगो पर्ने भएपछि खाद्य व्यवस्थाको चामल बिक्री कम हुनु स्वभाविक नै हो ।’ बर्खाका बेला सवारी साधन चल्न नसक्ने अबस्थामा भने बजारको चामल भन्दा ढुवानी अनुदानको चामल अति सस्तो पर्ने भएकाले बर्खामा थोरै बिक्रि हुने उहाँको भनाई छ । यस अघि बर्षमा २५ सय क्विन्टल चालम बिक्रि गर्दै आएको माछाखोला डिपोबाट आर्थिक बर्षमा बल्लतल्ल ८ सय क्विन्टल चामल बिक्रि गरिएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
ढुवानी अनुदानको चामल बिक्रि हुन छाडेपछि यो बर्षका लागि माछाखोला डिपोको कोटा घटाएर ५ सय क्विन्टलमा झारिएको उहाँले बताउनुभयो । ‘चालु आर्थिक बर्ष सुरुदेखि अहिलेसम्म १ क्विन्टल पनि चामल बिक्रि भएको छैन, अहिले बिक्रि नै नहुने भएकाले त्यहाँ स्टक पनि साढे १ क्विन्टल मात्र राखिएको छ, प्रमुख बस्नेतले भन्नुभयो, आबश्यकता परेका अबस्थामा जति बेला पनि चामल पु¥याउन सकिने अबस्था भने छ ।’ माछा खोला डिपोबाट उत्तरी गोरखाको गुम्दा, उहिया, केरौजा, काशिगाउँ लगायतका क्षेत्रका नागरिकहरुले चामल लैजाने गरेका थिए ।
माछाखोला डिपोबाट लिमिटेडले प्रतिकिलो सोना मनसुली चामल ४८ रुपैया किलोमा बिक्रि गर्दै आएको छ भने जापानिज चामल प्रतिकिलो ४८ रुपैयामा नै बिक्रि गर्ने गरेको आएको उहाँले जानकारी दिनुभयो । लिमिटेड उत्तरी गोरखाका धार्चे र चुमनुव्री गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरि धार्र्चेको माछाखोला र चुमनुव्री गाउँपालिकाको सिर्दिबासमा डिपो राखेर ढुवानी अनुदानमा चामल बिक्रि गर्दै आएको छ । अहिले पनि सिर्दिबास डिपोबाट भने बार्षिक ४७ सय क्विन्टलसम्म चामल बिक्रि हुने गरेको उहाँले जानकारी दिनुभयो । लिमिटेडको सिर्दिबास डिपोमा सोना मनसुली चामल प्रतिकिलो ५० रुपैया र जिरामसिनो चामल प्रतिकिलो ६२ रुपैयामा बिक्रि गर्दै आएको छ ।