गोरखा – गोरखाको गरापानी आज बिहान सुमो दुर्घटना भएको छ । दुर्घटना लगत्तै चालक फरार भएको छ । गोरखा नगरपालिका ४ को गरापानी क्षेत्रमा बिहान १ः१५ बजेको समयमा ग १ ज ७४३० नम्बरको टाटा सुमो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । दुर्घटनामा सुमो पुर्ण रुपमा क्षति भएको छ । ‘दुर्घटनाग्रस्त तर सुमो भित्र के कती जना सवार थिए अझै पत्ता लाग्न सकेको छैन । चालक समेत फरार छन्’ प्रमुख ढकालले भन्नुभयो।
दुर्घटनामा परेको सुमो सडकदेखि १०० मिटर तल खेतमा खसेको छ । सवारी धनी जीबन खड्का अनुसार आज चितवन जान भनेर हिडेको सवारी कसरी दुर्घटनामा पर्यो आफै आश्र्चयमा परेको बताउनुभयो । खड्काले चालक सम्र्पकमा आएको र सुमो भित्र अन्य २ जना यात्रु रहेको जानकारी दिनुभयो। चालक सहित यात्रु सकुशल रहेको चालकलाई उदृत गर्दै सवारी धनी खड्काले जानकारी दिनुभयो।
यता ट्राफिक प्रहरी कार्यालय गोरखाले भने दुर्घटना हुनै नसक्ने स्थानमा सवारी दुर्घटना भएकोले थप अनुसन्धान जारी राखिएको जानकारी गराएको छ । सुमो दुर्घटना भएको स्थानमा दुवै तर्फ ढुङाको थुप्रो भएको र त्यहाँबाट खस्न सक्ने संभावना कम रहेको कार्यालयले जनाएको छ ।
यता पटक पटकको प्रयास पछि सम्र्पक आएका चालक सन्दीप परियारले उकालोमा आउदा ब्रेक फेल भएकोले दुर्घटना भएको र यात्रु सहित आफु हाम फालेर ज्यान जोगाएको दावी गर्नुभयो । चालक परियारका अनुसार दुवै जना यात्रु समेत सकुशल रहेका छन् ।
कार्यालयले चालकको खोजी भई रहेको र दुर्घटनामा परेका अन्य २ जना यात्रुको समेत खोजी रहेको जनाएको छ ।