काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अनुदान सहयोग अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदको चालु अधिबेसनबाट पारित हुने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सम्पादकहरुसंगको छलफल कार्यक्रम बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले एमसीसीका विषयमा जनमानसमा एक किसिमको भ्रम फैलाइएको भए पनि सम्झौता उचित रहेको र चाँडै पारित हुने बताउनुभयो ।‘पुरानै सरकारले सम्झौता गरेको भए पनि उचित सम्झौता भएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसदको यही अधिवेशनबाट एमसीसी चाँडै पारित हुन्छ ।’
उहाँले प्रेस स्वतन्त्रमा कुनै बन्देज नहुने पनि बताउनुभयो । मनोबल गिराउने गरी समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषण नगर्न समेत प्रधानमन्त्रीको आग्रह थियो ।‘मानव अधिकार हननमा चिन्ता लिनु पर्दैन, कहीँ केही त्रुटी भएमा सच्याउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्राथमिकता नदिन समेत आग्रह गर्नुभएको छ ।‘विप्लव नामको समूह पैसा लुट्न, आतंक मच्चाउन हिँडेको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब अर्को क्रान्ति जरुरी छैन कल्पना पनि नगर्नुस्, विप्लव समूह व्यवस्था सुधारका नाममा अर्थ संकलनमा उद्दत छ ।’
उहाँले बम, बन्दुक सहित पक्राउ परेका केही मानिसहरु छुटेको भन्दै यसमा राज्य संयन्त्रको भूमिका कमजोर रहेको स्वीकार गर्नुभयो।‘उहाँले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा समेत सम्पादकलाई जानकारी गराउनु भएको थियो । आफूले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिँदै अझै आफू तीन वर्ष प्रधानमन्त्री रहने समेत बताउनुभयो ।