गोरखा २७, कात्तिक । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) सहयोगमा गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण भइरहेकोे एकिकृत नमुना बस्तीका घरहरु प्रयोग भएका झ्याल ढोका कमसल भएको पाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रामप्रसाद सापकोटा सहितको इन्जिनियरहरुको टोलीले आज गरेको एकिकृत नमुनाको अनुगमन तथा निरीक्षणका नमुनाबस्तीका घरहरुमा प्रयोग भएका झ्याल ढोका कमजोर र कमसल खालको प्रयोग भएको पाइएको हो ।
प्राधिकरण, गाउँपालिका, स्थानीय सरोकारवाला तथा स्थानीयबासीहरु समेतको सहभागितामा एनआरएनले निर्माण गरिहेको लाप्राक एकिृकत नमुनाबस्तीको अनुगमन तथा निरीक्षणका क्रममा बस्तीका घरमा प्रयोग भएको झ्याल ढोका र बस्ती निर्माणका क्रममा तयार पारिएको नमुना घरमा प्रयोग गरिएको झ्याल ढोकाको गुणस्तर फरक रहेको पाइएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
‘नमुना घर निर्माणका क्रममा जुन गुणस्तरको झ्याल ढोका राखिएको थियो, पछि बनाइएका घरमा राखिएका झ्याल ढोका भन्दा फरक छ, उहाँले भन्नुभयो, प्राधिकरणका इन्जिनियरहरुले पनि कमसल खालको प्रयोग भएको बताइसकेको छ ।’ उहाँले अनुगमनपछि प्राधिकरण सहितको सरोकारवालाहरुको संयुक्त बैठकले झ्याल ढोकामा कमगुणस्तरका सामाग्री प्रयोग भएका बारे प्राधिकरण मार्फत एनआरएनएलाई सहजीकरणका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको जानकारी दिनुभयो ।
त्यस्तै एकिकृत बस्ती निर्माण गर्दा पुर्ननिर्माण प्राधिकरणको कार्यबिधि एवं मापदण्ड अनुसार प्रत्येक घरमा ४ लाखको दरले प्राप्त हुनुपर्ने रकम अहिलेसम्म प्राप्त नभएको भन्दै पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गर्न प्राधिकरणलाई आग्रह गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘घरहरु मात्र बनेर भएन निर्माणधिन एकिृकत बस्तीमा सामुदायिक भवन एवंम धामिर्क आस्थाका आधारमा मठमन्दिर, गुम्वा लगयातको व्यवस्थापन गरिदिन पनि प्राधिकरणलाई आग्रह गर्ने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो ।

एकिकृत बस्ती निर्माणको कार्य सुरु भएको ४ बर्ष बितिसक्दा पनि अझै सम्पन्न नभएको भन्दै निर्माणका क्रममा बाँकी रहेका समस्याहरुलाई प्राधिकरण, गैह्रआवासिय नेपाली संघ, स्थानीय तह, स्थानीयबासीहरुले आ–आफ्नो ठाउँबाट पहल र प्रयास गरि छिटो काम सम्पन्न गरि हस्तान्तरण गर्ने निर्णय समेत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गोरखा भुकम्पका कारण जोखिममा रहेका पुरानो लाप्राक गाउँलाई बासिन्दलाई स्थानान्तरण गर्नका लागि गुप्पीपाखामा एकिकृत नमुना बस्ती निर्माणको काम भइरहेको छ ।