सुर्खेत, १७ कार्तिक । डोल्पा कारागारबाट फरार दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये दुई जनालाई पक्राउ गरिएको एसएसपी सन्तोषसिंह राठौरले बताए ।
मंगलबार बिहान करिब साढे १० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट वडा नं। ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको प्रहरीले जनाएको छ।