गोरखा २७, कात्तिक । घरमा भएको अन्न बाली जोगाउनका लागि स्याउ खेती गरिन्छ भन्दा जो कोहीलाइ पनि अचम्म लाग्छ । बजारमा महँगो मूल्यमा किनेर खानुपर्ने स्याउले कसरी जोगाउँछ अन्न बाली ? सोचनिय विषय रहेको छ ।
नेपाल राज्य एकीकरणको थालनी जिल्ला गोरखा जिल्लाको उत्तरी क्षेत्रमा हिमाल पारी दुइवटा उपत्यका रहेका छन् । एउटा उपत्यका चुम, साविक चुम्चेत र छेकम्पार गाविस र अर्को उपत्यका नुब्री, साविक विहि, प्रोक, ल्हो र सामागाउँ रहेका छन् । यही दुइ उपत्यकाको नामबाट यहाँको गाउँपालिकाको नाम चुमनुब्री उपत्यका रहन गएको छ । यसको सदरमुकाम फिलिम भन्ने स्थानमा रहेको छ ।
उत्तरी गोरखाका नागरिकहरुका लागि खाद्यन्न नेपाल खाद्य तथा व्यापार लिमिटेडले डुवानी गर्ने गर्दछ । जिल्ला सदरमुकामपछि माछाखोला र सिर्दीवासमा दुइ वटा डिपो रहेका छन् । तोकिएको परिमाणमा यहाँ खच्चड मार्फत खाद्यन्न ढुवानी हुने गर्दछ ।
सिर्दीवास भन्दा माथि उपभोक्ता आफैले ढुवानी गरेर लैजानुपर्दछ । यसरी ढुवानी गरेर घरसम्म खाद्यन्न पुर्याउन प्रतिकेजी १२० रुपैयाँ पर्ने साम्दोका निमा लामाले जानकारी दिनुभयो । वडा सदस्य समेत रहेका लामाका अनुसार तिब्बतको नाका बन्द हुँदा यस क्षेत्रका नागरिकहरु महँगोमा खाद्यन्न खरिद गर्न बाध्य छन् ।
यस भेकमा उत्पादन हुने मुख्य बाली आलु हो । आलु पछि करु उत्पादन हुने गर्दछ । तल्लो क्षेत्रबाट गाउँमा पुगेको खाद्यन्न र गाउँमा उत्पादन भएको खाद्यन्न प्रयोग गरेर मानिसहरुले रक्सी उत्पादन गर्ने गर्दछन् । चिसो ठाउँमा नखाइ बस्न सकिदैन, आफूसँग भएको बस्तुको प्रयोग गरेर उत्पादन गर्ने हो भन्नुहुन्छ अर्का स्थानीय छेटु लामा ।
खाद्यन्नको प्रयोग गरेर रक्सी उत्पादन गर्दा अन्न सकिने र भोकमरीको अवस्था आउने भएपछि अहिले नुब्री उपत्यकामा भूइस्याउ खेतीको थालनी गरिएको छ । एउटा बोटबाट ८० किलोग्रामसम्म उत्पादन दिने भूइँस्याउबाट रक्सी बनाउने र अन्नबाली खाद्यन्नको रुपमा प्रयोग गर्ने प्रचलन पछिल्लो एक वर्ष यता बढेको हो । तल्लो क्षेत्रमा प्रतिबोट ८÷१० केजी फल्ने भूइँस्याउ माथिल्लो क्षेत्रमा दशगुणा धेरै फल्ने गरेको छ । चिसो हावापानीमा उत्पादन राम्रो हुने कृषि विज्ञहरुको भनाइ छ ।
भूइँस्याउ खनेर जम्मा गरी ड्रममा मर्चाका साथ राखेर रक्सी बनाउने समयमा यसको प्रयोग गर्न सकिने यसबारे जानकारहरु बताउँछन् । रक्सी बनाउने काममा अहिले प्राय सबैले स्याउको प्रयोग गर्ने गरेको प्रोकमा भेटिएका एक स्थानीय नागरिक बताउँछन् ।
पौष्टिक तत्व प्रशस्त पाइने भएकाले भूइँस्याउको फल सबैका लागि हितकर रहँदै आएको छ ।