काठमाण्डौ १६, कात्तिक ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा- का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आई पुगेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थ मन्त्रीसमेत रहेका पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधका कारण पार्टीमा संकट आएको संकेत गर्नुभएको हो ।
पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेको समेत औँल्याउदै महासचिव पौडेलले पार्टी एकता सम्पन्न भएसँगै १ वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी भएको भएपनि आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको बताउनुभयो ।
पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको भन्दै जुन उद्देश्यसहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएको थियो सो बमोजिम अघि बढ्न नसकेर गम्भीर दुर्घटनाको मोडमा पार्टी पुगेको उहाँको भनाई छ ।