गोरखा १६, कात्तिक । गोरखा जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको बिभिन्न ६ स्थानिय तहमा कोरोना संक्रमति थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो । भीमसेन थापा गाउँपालिकाको वडा नम्बरका २५ बर्ष एक पुरुष, धार्चे गाउँपालिका वडा नम्बर ९ का २७ बर्षका एक पुरुष, गोरखा नगरपालिका वडा नम्बर ७ का ५१ बर्षकी एक महिला र ५६ बर्षका एक पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।
संक्रमण पुष्टी पाँचै जनाको जिल्ला बाहिर नै स्वांब संकलन गरि कोरोना परीक्षण भएको उहाँले बताउनुभयो । ‘उहाँहरु सबैको चितवन स्थित चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकमा उपचारका क्रममा गएका बेला त्यहाँ नै स्वांब परीक्षण गर्दा कोरोना पुष्टी भएको हो, सूचना अधिकारी न्यौपानले भन्नुभयो, जिल्ला भित्र स्वांब संकलन गरिएका मध्ये पनि आज थप ३ जनामा कोरोना पुष्टी भएको छ । ’
जिल्ला भित्र स्वांब संकलन गरि कोरोना पुष्टी भएकाहरुमा गोरखा नगरपालिका वडा नम्बर ५ का ५३ बर्षका एक पुरुष,बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ का ३८ बर्षका एक पुरुष र पालुङटार नगरपालिका वडा नम्बर ७ का २२ बर्षका एक पुरुष रहेको उहाँले बताउनुभयो ।
उहाँहरुको पोखरा स्थित लाइफ केयर एण्ड डायग्नेस्टिक प्रा.लि र क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण गरिएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज गोरखामा १० जनाको कोरोना संक्रमणको पुष्टी भएको जानकारी गराएपनि बाँकी रहेका २ जनाको भने हिजो नै संक्रमणको पुष्टी भएकाहरु रहेको सूचना अधिकारी न्यौपानले जानकारी दिनुभयो ।