गोरखा ८ कात्तिक । गोरखाका प्रतिनिधि सभाका २ जना सांसद सहित उहाँहरुका श्रीमतीमा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उहाँकी श्रीमती समेत रहनु भएकी नेतृ हिसिला यमी, प्रतिनिधिसभाका सांसद चुडामणी खड्का र उहाँकी श्रीमती शर्मिला खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा.भट्टराईले आज विहान ट्वीट गर्दै आफु र श्रीमती यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणमा भट्टराई दम्पत्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमणपछि नेता भट्टराई र उहाँकी पत्नी हिसिला यमी होम आइसोलेसनमा रहेका छन् ।
चिकित्सकको सल्लाह अनुसार नै आफुहरु आइसोलेसनमा बसेको भट्टराईले जानकारी दिनुभयो । संक्रमित दुबै जनामा कुनै लक्षण देखिएको छैन । नेता भट्टराईले केही समययता आफ्नो सम्पर्कमा आउनेलाई सतकर्ता अपनाउन आग्रह गर्नुभएको छ । भट्टराई केही समयअघि पर्सामा जनता समाजवादी पार्टीले आयोजना गरेका ठुला भेलाहरुमा सहभागी हुनुभएको थियो । उता सांसद खड्का र उहाँकी श्रीमतीलाई पनि आज नै कोरोना पुष्टी भएको उहाँको सचिवालयले जनाएको छ ।