गोरखा ७, कात्तिक । गोरखाको धार्चे गाउँपालिकाका २ सय जना श्रमिकलाई ज्याला बापतको दशै खर्च उपलब्ध गराइएको छ । ‘कामका लागि नगद’ कार्यक्रम अन्र्तगत सलंग्न श्रमिकहरुलाई ठेकेदार आफैले दशै मनाउन खर्च उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । ‘ठेकेदारले पाउनु पर्ने पैसा अहिलेसम्म पाएको छैन, उहाँले भन्नुभयो, तर दशै मनाउन श्रमिकले ज्याला नै नपाउने अबस्था आएपछि ठेकेदारले खोजेरै श्रमिकलाई रकम उपलब्ध गराएको हो ।’
गाउँपालिकाको माछाखोलादेखि खोर्लासम्मको करिब साढे ३ किलोमिटर गोरेटो बाटो बिश्व खाद्य कार्यक्रमको कामका लागि नगद कार्यक्रम अन्र्तगत निर्माण गरिएको थियो । उक्त गोरेटो बाटो निर्माणको काम एक हप्ता अघिमात्र सकिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको बाटोको गाउँपालिकाले अनुगमन समेत गरिसकेको उहाँको भनाई छ ।
दशै मनाउन ठेकेदारले संलग्न श्रमिकलाई कामका आधारमा अधिकत ५५ हजार रुपैयासम्म प्रदान गरेको उहाँको भनाई छ । उक्त गोरेटो बाटो निर्माणको ठेक्का ए एण्ड ए कम्पनीले पाएको थियो । दशैको मुखमा समेत श्रमको ज्याला नपाउने अबस्था आएपछि श्रमिकहरु चिन्तित भएका थिए । ढिलै भएपनि दशैखर्च जुटेपछि उनीहरु खुशी समेत भएका छन् ।