Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति


2.8K
Shares

आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौ, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित हुनुभएका राउत अब थप चार दिन हिरासतमै रहनुपर्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभएको थियो । प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब दुइ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किनुभएका आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको भएपनि उहाँको पारिवार भने उजुरीकर्ता महिलासँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयासमा थियो ।

उजुरीकर्ता प्रहरी जवानले उजुरी फिर्ता लिन अस्वीकार गरेपछि गायिका राउतले आफू कानूनअनुसारको कारबाही भोग्नका लागि तयार भएको प्रतिक्रिया दिनुभएको थियो । राउत आज बिहान नै प्रहरीको सम्पर्कमा आए पनि प्रहरीले भने अपराह्नतिर मात्रै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology